सहकारी नियमन प्राधिकरणमा अध्यक्षको खोजी
सहकारी संस्था नियमनका निम्ति गठन गरिएको राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य नियुक्ति प्रक्रिया अघि बढाइएको छ । प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले आज दरखास्त आह्वान गरेको हो ।
समितिले सहकारी ऐन, २०७४ तथा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्यको पदमा नियुक्तिका लागि सिफारिससम्बन्धी मापदण्ड, २०८२ बमोजिम दरखास्त आह्वान गरेको जनाएको छ । योग्यता पुगेका इच्छुक व्यक्तिले यही जेठ २५ गतेसम्म ललितपुरको पुल्चोकस्थित प्राधिकरणको कार्यालयमा दरखास्त पेश गर्न सक्नेछन् ।
अध्यक्ष पदको लागि ऐनको दफा १० ग को उपदफा (१) को खण्ड (क) बमोजिम अर्थशास्त्र, वाणिज्य, व्यवस्थापन, लेखा, कानून वा सहकारी विषयमा कम्तीमा स्नातकोत्तर तहको उपाधि हासिल गरी सरकारको राजपत्राङ्कित विशिष्ट श्रेणी वा सो सरहको पद अथवा अन्तर्राष्ट्रिय, राष्ट्रियस्तरका बैंक, वित्तिय संस्था वा सहकारी संस्थामा रही कम्तीमा १५ वर्ष काम गरेको हुनुपर्छ ।
यस्तै, विज्ञ सदस्यको हकमा ऐनको दफा १० ३ ग को उपदफा (१) को खण्ड (घ) बमोजिम अर्थशास्त्र, वाणिज्य, व्यवस्थापन, लेखा, कानून वा सहकारी विषयमा कम्तीमा स्नातकोत्तर तहको उपाधि हासिल गरी अन्तर्राष्ट्रिय वा राष्ट्रियस्तरका बैंक, वित्तिय संस्था वा सहकारी संस्थामा रही कम्तीमा दश वर्ष काम गरेको हुनुपर्ने सूचनामा उल्लेख छ ।
टिप्पणीहरू