महरालाई जेल पुर्याउने रोशनी शाहीको शव कोठाभित्र भेटियो

महरालाई जेल पुर्याउने रोशनी शाहीको शव कोठाभित्र भेटियो

तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएर डिल्लीबजार कारागार पुर्याउने सँसद सचिवालयकी तत्कालिन कर्मचारी रोशनी शाही मृत भेटिएकी छन् । भक्तपुरको बालकोटस्थित कोठामा भित्रबाट चुकुल लगाएको अवस्थामा उनी केही बेरअघि मृत भेटिएकी हुन् । 
प्रहरीले ढोका फुटाएर हेर्दा उनी मृत अवस्थामा फेला परिन् । 

प्रहरीका अनुसार घोप्टो परेको अवस्थामा भेटिएकी उनको छेउमा विषको बट्टा पनि फेला परेको छ । काम विशेषले विराटनगर पुगेका उनका श्रीमान चित्रजङ्ग शाही राजधानी फर्कंदै छन् ।

२०७६ असोजमा संसद सचिवालयमा कार्यरत रोशनीले महराले आफूमाथि बलात्कार प्रयास गरेको आरोप लगाएपछि राजनीतिक वृत्तमा हलचल मच्चिएको थियो । महराले मादक पदार्थ सेवन गरेर आफ्नो कोठामा जबरजस्ती गर्न खोजेको उनले बताएकी थिइन् ।

जाजरकोटकी रोशनीको आरोपपछि सभामुख पदबाट राजीनामा दिएका महरा लगत्तै पक्राउ परी जेल बसे । जिल्ला अदालत काठमाडौंमा पुगेको उक्त मुद्दामा रोशनीले पछि बयान फेरेर महराको कुनै दोष नरहेको बताएकी थिइन् ।

उनका छोरा र छोरी अमेरिका बस्दछन् । तिनै सन्तान भेट्न अमेरिका गएको दम्पति केही समयअगाडि मात्रै नेपाल फर्केको थियो ।

टिप्पणीहरू