आज पनि खुलेन मिथिलाको ताला
मधेस प्रदेशको मिथिला नगरपालिका थिलथिलो हालतमा छ । मेयर–उपमेयरको विवाद चरमोत्कर्षमा रहेको बुझिन्छ । उपमेयरले लगाएको ताला मेयरले बिहिबार नै खोल्ने भनिएको थियो । तर खुल्न सकेको थिएन । आज बल्ल दुई पक्षबीच केही सहमति भएको बताइन्छ । सोहीअनुरुप अघि चार बजे तालाबन्दी खोल्ने कुरा पक्कापक्की जस्तै भएको सुन्नमा आएको थियो । तर आज पनि तालाबन्दी खुल्न नसकेको जानकारीमा आएको छ ।
‘खोल्ने मान्छेले खोल्न पर्यो नि त’,नगरप्रमुख महेन्द्र महतोले भने, ‘अब सहमति भइसक्या छ । खोल्ने कुरा भा’छ । लगाउने मान्छेले खोल्न पर्यो ।’ यस विषयमा बुझ्न उपमेयर सुनिता सिंह बुढाथोकीको मोबाइल नम्बर ९८५११४७९७९ मा पटक–पटक सम्पर्क गर्दा फोन उठेन ।
मेयरले अधिकार जति सबै आफ्नो हातमा लिएर एकलौटी ढंगले काम गरेको भन्दै विगत केही दिनदेखि उपमेयरको नेतृत्वमा तालाबन्दी भइरहेको हो । नगरपालिकाको विकास निर्माणसम्बन्धी योजना वितरणमा भेदभाव भएको उपमेयर पक्षको आरोप छ । नगरप्रमुखले आफ्नो मात्र योजना सञ्चालन गर्ने गरेको उपमेयरको भनाइ छ । अधिकार प्रत्यायोजनको विषयलाई लिएर उपमेयरको तर्फबाट सर्वाेच्चमा मुद्दा दायरसमेत भएको अवस्था बुझिन्छ । २०८०/०८१ को नगरसभा पनि कानुन अनुसार नभएको जनाइएको छ । विवादकै कारण हिउँदे अधिवेशन हुन नसकेको अवस्थामा अहिलेको सहमतिमा असारमा नगरसभा गर्ने विषय पनि रहेको बताइन्छ । यस्तै, उपमेयरले मुद्दा फिर्ता लिनुपर्ने कुरा पनि सहमतिमा उल्लेख रहेको वार्ता समितिका सदस्यसमेत रहेका वडाअध्यक्षले बताएका छन् ।
मिथिला नगरपालिकाको कार्यपालिकामा एमाले पक्षको बहुमत छ । उपमेयर एमाले र मेयर कांग्रेसी हुन् । यी जनप्रतिनिधिको झगडाले यसअघि पनि पटक–पटक तालाबन्दी भएको बुझिएको छ । नगरपालिकाका सूचना अधिकारी सन्जयकुमार महतोले अहिले योजना शाखा र प्रमुख प्रशासकीय अधिकृतको कोठामा तालाबन्दी भएको जानकारी दिए । आज अपराह्न ४ बजे तालाबन्दी खुल्ने भन्ने आफूले पनि सुनेको तर पाँच बज्दासम्म तालाबन्दीचाहिँ नखुलेको अवस्था रहेको उनले पनि बताए । सम्भवतः भोलि खुल्ला कि !
टिप्पणीहरू