राजावादीहरुको तारो प्रधानमन्त्री, भन्छन् ‘आपत्तिजनक अभिव्यक्ति’

राजावादीहरुको तारो प्रधानमन्त्री, भन्छन् ‘आपत्तिजनक अभिव्यक्ति’

पर्सिदेखि गणतन्त्र र संघीयताको विरुद्धमा आन्दोलन गर्न लागेका राप्रपा र राजावादीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आक्रोश पोखेका छन् । आन्दोलनअघि आज राजधानीमा आयोजित संपादकहरुसँगको भेटघाटमा यसअघि गठित राजसंस्था पुनस्र्थापना र सनातन हिन्दु धर्मका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले प्रधानमन्त्रीको हालैको अभिव्यक्तिले पर्सिको कार्यक्रम पनि चैत १५ गतेको तीनकुनेको घटना जस्तै हुनसक्ने आशंका गरेका छन् ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले गणतन्त्र दिवसका दिन राजधानीको सडक एमालेको कब्जा र नियन्त्रणमा हुनुपर्ने अभिव्यक्ति दिएपछि मुठभेडको सम्भावना बढेको हो । सुवेदीले प्रधानमन्त्रीको उक्त भनाईप्रति आपत्ति जनाउँदै आफूहरुको आन्दोलन शान्तिपूर्ण हुने दाबी गरेका छन् ।

सोही कार्यक्रममा बोल्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरुको आन्दोलन प्रधानमन्त्रीले नै भड्काउन खोजेको आरोप लगाएका छन् । उनले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति फिर्ता लिनुपर्ने वा राजीनामा दिनुपर्ने बताए । 

राजवादीहरुको पर्सिको कार्यक्रम रत्नपार्कमा गर्न खोजेपछि एमालेले नजिकैको भृकुटीमण्डपमा गणतन्त्रको पक्षमा प्रदर्शन राखेको छ ।

सोही कार्यक्रममा बोल्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता खारेजीका लागि समय अनुकूल बन्दै गएको दाबी गरे । सबै राजावादीहरु एक भएकाले त्यस्तो परिस्थिति उत्पन्न भएको उनले बताए ।
 

टिप्पणीहरू