चितवनदेखि रुकुम पूर्वको टकसेरासम्म मोटरसाइकल यात्रा
चितवनमा अटोमोबाइल्स व्यवसाय सञ्चालन गरेर बसेका युवाहरु आन्तरिक पर्यटन प्रवद्र्धनका लागि बाइक राइडमा निस्किएका छन् । भरतपुरबाट हिजो थालिएको उनीहरुको यात्रा जेठ १७ गते पूरा हुने छ ।
रुकुम पूर्वको एक हजार वर्ष पुरानो टकसेरा गाउँपालिकासम्म पुगेर फर्किने कार्यक्रम बनाइएको संयोजक अमृत जोशीले बताए । रुकुमलाई मुख्य गन्तव्य मानेर यात्रा थालेकाले ‘एक्स्प्लोरिङ रुकुम’ नाम दिइएको हो ।
जोशीका अनुसार नारायणगढदेखि पोखरा, बाग्लुङ हुँदै मध्यपहाडको आर्थिक मेरुदण्ड मानिएको मध्यपहाडी लोकमार्गलाई पछ्याउँदै घोडाबाने, गलकोट दरबार, बुर्तीवाङ बजार, पातिहाल्ने भन्ज्याङ, चौरीखर्क, महत गाऊँ, रुकुमकोट, टकसेरासम्म यात्रा गरिनेछ ।
त्यसपछि वामिटक्सार, पवित्रस्थल रिँडी, प्रेमको प्रतिक रानीमहल अवलोकन गरी चीनको कोरला नाका जोड्ने महत्वकाङ्क्षी सडक कालिगण्डकी करिडोरको पाल्पा रामपुर हुँदै नारायणगढ आएर यात्रा सम्पन्न गरिनेछ ।
कार्यक्रम सफल बनाउन विभिन्न संघसंस्थाले सहयोग गरेको जोशी बताउँछन् । यात्राको संस्थागत सहयोगी लायन्स क्लब अफ चितवन अटोमोबाइल्स रहेको छ । टेक्निकल पार्टनरमा लक्की मोटरसाइकल वर्कसप छ । व्यवसायिक सहयोगीमा सेन्टर कलेज भरतपुर, हिमानी एजुकेशन, मनकामना पार्टस् उद्योग र भिएसके पार्टस् रहेका छन् ।
टिप्पणीहरू