यसो गरे कसो होला ?

यसो गरे कसो होला ?

मान्छेहरु जारको ज्यान लिनसम्म पछि पर्दैनन् । श्रीमतीसँग लाग्ने परपुरुषलाई कतिले मारिदिएका घटना छन् । रिसको झोंकमा श्रीमतीलाई मारेर आफूले आत्महत्या गरेका घटना पनि छन् । तर ती सब व्यर्थ हुन् । मात्र मूर्खता हो । आफ्नी श्रीमती परपुरुषसँग टाढा गइसकेको अवस्थामा समेत खोजीखोजी कुट्ने, जबरजस्ती गर्ने मान्छे पनि दुनियाँमा भेटिन्छन् ।

हालै सामाजिक सञ्जाल फेसबुकमा एकजना पुरुषले श्रीमती अर्कोसँग सल्किएको फेला पारेपछि दुवैको बिहे गरिदिएको घटना निकै चर्चामा आएको छ । बैंग्लोरको घटना भनी जनाइएको एक भिडिओमा अन्दाजी २४–२५ वर्षीया महिला र २५–३० वर्षका पुरुषलाई सँगै राखेर उस्तै उमेरका ती श्रीमानले माला पहिर्याइदिँदै आफ्नी श्रीमती सुम्पिएको देखिन्छ । पृष्ठभूमिमा ‘छोडेर गयौ नि !’ भन्ने गीत बजिरहेको छ । 

‘खासमा गर्नुपर्ने यो हो नि त’ उक्त भिडियोमा विपिन गोर्खालीको कमेन्ट छ । श्रीमानलाई कसैले ‘स्याबास भाइ तिमी असली पुरुष हौ’ भनेका छन् । कसैले लेखेका छन्, ‘पुरानो केटो साहसी रैछ ।’ त्यहाँ थुप्रै प्रतिक्रिया छन् । तीमध्ये एउटाले भनेका छन्, ‘रिसको आवेगमा आएर रिस पोख्नुभन्दा राम्रोसँग बिदाइ गर्नु बुद्धिमानी हो । किनकि घटना घट्यो भने जीवनभर तड्पाइ हुन्छ । स्वतन्त्र र इच्छाले बाँच्न दिनुपर्छ ।’ यसैमा, हेमन्त हेमन्तले लेखेका छन्, ‘आफूसँग खुशी छैन भने जो सँग खुशी हुन्छ उसैलाई छोडिदिनुपर्छ । महान् विचार हो भाइको, गुड ।’ 

दावा सोनाम तामाङको विचार यस्तो छ, ‘शतप्रतिशत हामी पुरुष पनि सत्य हुन्न । छातीमा कसम खाएर भन्नुपर्छ । त्यसैले बच्चाको मुख हेरेर एकचोटि सुध्रने मौका दिनुपर्छ । किनकि बहिनीले माया तिमीलाई नै गर्दाे रहेछ, अनुहारले देखाउँछ साथी ।’ डीबी पाख्रिनको प्रतिक्रियामा भनिएको छ, ‘हुन त म नि पुरुष नै हो तर कस्तो विडम्बना, यदि यो ठाउँमा कुनै पुरुष भइदिएको भए कुरा सामान्य नै हुन्थ्यो होला तर यहाँ महिलालाई कुनै भूलवश यस्तो हर्कतमा भेटे भने सीधै त्यो सम्पर्कको लागि भेटेको र उसको कुनै ब्याकराउन्ड नै थाहा नभएपनि उनै सँग जीवन सुम्पिनुपर्ने कस्तो चलन हो, उसलाई माफी भन्ने शब्द नै छैन । यदि त्यही ठाउँमा पुरुष भएको भए यहाँसम्मको हर्कत नहुने थियो कि ? कुनै पनि महिला यस्तो अवस्थामा देख्न नपरोस् । सुख दुःख आफ्नै परिवारसँग मिलेर बसेको देख्न मात्रै परोस् ।’

हुन पनि कि त कसैसित सम्बन्ध नै नगाँस्नु, गाँसिसकेपछि त्यसैमा पूर्णसमर्पणको भाव राख्न सक्नुपर्ने हो मान्छेले । तर खै त हाम्रो समाजमा त्यो आदर्श ? कि हामीले मान्ने गरेका कतिपय आदर्शका कुराहरुमै गलत मान्यता हो ? कसैसित बिहे गरेपछि उसका प्रेम र यौनका भावना र व्यवहार मैसँग मात्र हुनुपर्छ भन्ने सोचाइ राख्नु नै गलत देखिएको छ । भनौं, अज्ञानता वा एक किसिमको बालहठ रहेछ त्यो । जब यस्तो सोचविचार राखेर बिहे गरिन्छ, पीडा आफैंलाई हुने रै’छ । उसमा आफूप्रति कतिको आत्मीयता र सन्तोषको भाव जगाउन सकिन्छ, त्यो त आफैंमा भरपर्ने विषय हो । तर अरुबाट आफू खुशी हुन्छु भन्ने सोचाइ राख्नुचाहिँ जीवनसंगत छैन । 

जब मान्छेले अरुलाई आफ्नो सुख वा दुःखको कारण मान्छ, ऊ आफैं नै त्यसमा पिल्सिएर सकिन्छ । तिनै मान्छे पागल हुन्छन्, तिनै तड्पीतड्पी बाँच्नुपर्छ अनि अकाल मर्छन् पीडाको रापमा जलेर । अरुको लागि आफूलाई किन तड्पाउने ? तर पनि पागल मन मान्दैन र अरुमै मेरिमेट्ने धेरै छन् । 

आखिर यो संसारमा आफ्नो भन्ने के नै छ र ? आफ्नै देह त एकदिन छुटेर जान्छ । जन्मने र मर्ने पनि एक्लै नै हो । बीचमा जीवन चलाउन सजिलो होस् भनी एकअर्काको साथ र सहाराको लागि बिहे गरिन्छ । त्यसैले श्रीमान–श्रीमतीलाई जीवनसाथी पनि भन्ने गरिन्छ । तर कोही मान्छे आफूभन्दा अरुसँगै रमाउँछ भने उसलाई रमाउन दिनुपर्छ । किनकि त्यो उसको आफ्नो अधिकार पनि हो । हरेक मान्छेमा स्वेच्छा भन्ने चीज प्रबल हुन्छ, त्यसमा अरु कसैको केही चल्न सक्दैन । मान्छेले आफ्नै इच्छालाई त मार्न सक्दैन भने अरुको इच्छालाई मार्ने कोशिस गर्नु पनि व्यर्थ छ । आ–आफ्नो खुशी सबैलाई नै प्रधान हुन्छ तर प्रायः मान्छेहरु आफ्नोमात्र खुशीलाई सर्वाेपरी ठान्छन् अनि अरुको खुसीलाई गौण, त्यसैले नै यहाँ आपसमा समस्याहरु बढ्दै गएको हो ।

बिहे गरेर पनि कोही किन आफूसँग खुशी छैन, आफूभन्दा अरुसँगै किन रमाउँछ ? मान्छेले आफ्नो कमी–कमजोरी पनि केलाउन सक्नपर्छ । तर कोही–कोहीलाई त जति राम्रो गरे नि खुशी पार्न सकिन्न, त्योचाहिँ हो । त्यस्तालाई छोडिदिएकै जाती । फेरि यो यौन र माया भन्ने विषय नै अचम्मको, जहिले जोसँग पनि जाग्न सक्ने । धनसम्पत्ति भन्दा पनि माथि । भौतिक सुख सुविधाले परिपूर्ण मान्छे पनि प्रेम र यौनका लागि तड्पिरहेछन् । त्यसैले त गाडी बंगला भएका डाक्टरलाई समेत छोडेर श्रीमती ड्राइभरसँग भागेका थुप्रै उदाहरण छन् । नभागे पनि अरुसँग अन्तरंग सम्बन्ध राखेका घटना बेला बेला बाहिर आइरहन्छ ।

प्रेम र यौनले मान्छेलाई कहिल्यै पनि पुग्दैन रहेछ । चरमचुलीको सन्तुष्टि पनि क्षणभरमै स्खलित भएर अर्काे भोक जाग्नु स्वभाविक नै हो । एउटैमा मान्छे सधैं सन्तुष्ट भएर बस्न नसक्ने पोलिगामी हुन्छन् । नयाँ–नयाँ स्वाद र सन्तुष्टिको अपेक्षा मान्छेलाई सदा भइनैरहने । त्यसैले त एकपछि अर्काे नयाँ आविष्कारहरु यहाँ सम्भव भएका हुन् । 

श्रीमती वा श्रीमान् अरुसँग लाग्दा आवेगमा आएर मारपिट गर्नु भनेको चाहिँ आफैंलाई घाटा हो । जेल जानुपर्ने अवस्थासम्म आउँछ । आफू पनि स्वतन्त्र भएर बाँच्नु अनि अरुलाई पनि स्वतन्त्र रुपमा जिउन दिनु, यही ठिक छ । अरुको पनि त मनै हो, त्यसलाई थुनेर, छेकेर पनि सकिन्न । जब कसैको मनै नलागेपछि के गर्नु ? जता मन लाग्छ उतै उडान भर्नु नै उचित हो । कति मन बाँधेर बस्छन्, कति सक्दैनन् फरक यत्ति हो ।

आमाबाबुको झगडा र किचकिच भइरहने घरमा वा अभिभावकको सम्बन्धमा विचलन आएको अवस्थामा सन्तान पनि विचलित हुँदै हुर्किन्छन् । त्यसैले छोराछोरीको सुखमय र उज्ज्वल भविष्यको लागि भएपनि आमाबाबुबीच सुमधुर सम्बन्ध कायम रहनुपर्छ । कुनै पनि बच्चाको लागि आमाबाबु दुवैको साथ र ममता जीवन–विकासको निम्ति महत्वपूर्ण पक्ष हो । छोराछोरी पाइसकेपछि श्रीमान श्रीमती सँगै बसेपनि छुटेपनि सन्तानको सही व्यवस्थापनको जिम्मेवारी दुवैको हुन्छ । तर याद राखौं, बाआमा अलगथलग भएका धेरै सन्तानको जीवन बर्बादीतर्फ धकेलिएको हामी पाउँछौं । अर्काे खोज्दै जाँदा भोलि आफैं अप्ठेरोमा परेका घटना पनि छन् । जे गर्दा आफूलाई सजिलो हुन्छ गर्ने त त्यही हो । तर कोही आफ्नो साथ चाहन्न भने जबरजस्ती गर्नुको अर्थ छैन । शारीरिक सम्बन्ध पनि श्रीमान श्रीमतीबीच जबरजस्ती गरिनु अपराध मानिन्छ । फेरि माया र प्रेमको हवसले आफ्नो पराइ, बूढोतन्नेरी, राम्रो–नराम्रो केही नहेर्ने । कामुकतामा मान्छे अन्धो झैं हुँदा रैछन् । जोशमा होश हुन्न अनि पछि आफैं पछुताउनुपर्ने अवस्था जगजाहेर छ ।  

जो आफ्नो र छोराछोरीको भविष्य सोच्छन्, ती आफूलाई सम्हालेरै बस्छन् । तर बिहे भएको भन्दैमा तिनै श्रीमान् वा श्रीमतीसँग बस्दा पीडा हुन्छ, भविष्य अन्धकार हुने अवस्था छ भने त्यसैमा रुमल्लिएर बस्नु पनि त भएन । एकअर्कामा निस्सासिएर रहनुको मजा पो के त ? सकेसम्म सबैजना हाँसीखुसी नै बाँच्नुपर्छ । सकिन्छ भने अरुलाई खुसी दिनु, सकिन्न भने दुःख पनि नदिनु । कसैलाई जीवनभर साथ दिन्छु भनेर वाचाबन्धन गरेर बिहे गरिसकेको अवस्थामा उसलाई अप्ठेरोमा छोडेर हिँड्नु त साह्रै आना गलत नै हो तर उसबाट आफूले अप्ठेरो खेपिरहनुपर्छ भन्ने चाहिँ हुन्न । जेहोस्, आफूले आफ्नो ठानेको मान्छे अरुसित गई भनेर मारपिट गर्नु उसलाई चोट पु¥याउनु भनेको मूर्खता मात्रै हो । मन त दुख्छ तर त्यसैमा धेरै दुःखी भयो भने दुःख आफैंलाई नै हो । 

यो प्रंसगमा ‘बल गरेर त्यो मन यता मोड भन्दिनँ म, माया गर्छु थाहा छ तिमीलाई छोड भन्दिनँ म । तर खुशी अन्तै मिल्छ भने तिमीलाई धेरै मैसँग नाता जोड भन्दिनँ म’ बोलको एकदम सुहाउँदो छ । अरुसित लागेको मान्छेको मनलाई आफूतिर फर्काउनु त्यति सजिलो पनि छैन । जार वा जारिणीसँग मारपिट गर्नु भन्दा पनि ऊ वा उनीहरुभन्दा योग्य र असल बनेर अगाडि बढ्नु महान् कर्म हुने छ । ताकि भोलि तपाईंको अब्बलता देखेर छोडी जाने बैगुनी पनि पश्चातापमा जलोस् न ! 

टिप्पणीहरू