नेपाली युवा व्यवसायीको कुरो सुनेपछि चिनियाँ विद्यार्थी दङ्ग
चीनको सियान शहरबाट विभिन्न विश्वविद्यालयका झण्डै डेढ सय विद्यार्थी तथा प्राध्यापकहरु स्थलगत भ्रमणको क्रममा चीनकै यिवु सहर पुगेका छन् । आफ्नो सुन्दर भविष्यको आधारबारे जानकारी लिन आएका ती विद्यार्थीको यिवुमा झण्डै डेढ दशकदेखि व्यवसाय गर्दै आएका नेपाली युवा व्यवसायी राजकुमार खड्कासँग भेट भएको छ ।
नेपाली व्यवसायी खड्काले उनीहरुलाई आशा र भरोसा राख्दै अघि बढेमा आफ्नो भविष्यको आधार आफैँ बन्न सकिने आधार दिएका छन् । खड्काले भने, ‘तपाईंहरू विश्वकै शक्तिशाली मुलुक र उत्कृष्ट नेताहरू भएको देशमा जन्मिनुभएको छ ! तपाईंहरू साँच्चि नै भाग्यमानी हुनुहुन्छ ।’
चिनियाँ भाषामा बोल्दै खड्काले विद्यार्थीहरुलाई यसो भनेका हुन् :
उपस्थित आदरणीय नेताज्यू, प्रिय प्राथ्यापक तथा विद्यार्थी साथीहरू दिउँसोको नमस्कार ।
मेरो चिनियाँ भाषा त्यति राम्रो छैन, त्यसैले मेरो मनमा लागेको कुरालाई मैले यो कागजको टुक्रामा अक्षरको रूपमा कोरेको छु । तपाईंहरूका सामुन्ने मेरो मनका भावना लेखिएको यो कागज पढेर सुनाउने अनुमति चाहन्छु ।
मेरो नेपाली नाम राजकुमार खड्का हो । तर म अहिले बसिरहेको मेरो प्यारो चीनमा भने मलाई तपाईंहरू प्रिन्स भनेर चिन्नुहुन्छ । नाम जे भएपनि खासमा म एक नेपाली हुँ ।
मैले यहाँ धेरै संख्यामा युवा देखेको छु । यस्ता सुन्दर भविष्यको खोजीमा लाग्नुभएका युवा समूहको अगाडि उभिएर बोल्न पाउँदा मलाई गर्व लाग्छ । मैले आज सबैभन्दा भाग्यमानी ठानेको छु । तपाईंहरुको यो उमेरमा म पनि अनेक इच्छा र आकांक्षा राखेको थिएँ । उ उमेरमा राखिने भविष्यप्रतिको आशावादी चाहना अन्य उमेर समूहका निकै कम हुन्छ ।
मैले तपाइँहरूको उमेर पार गरिसकेको छु । म अहिले केवल आफ्नो अतितलाई केलाउन सक्छु । मैले मेरो त्यो उमेरमा भोगेका तीता मीठा अनुभवहरू मात्र यहाँहरुलाईइ सुनाउन सक्छु ।
मेरो नजरमा, तपाईंहरु धेरै भाग्यमानी र सुखी हुनुहुन्छ । किनभने यस देशका नेताहरू धेरै दयालु र दूरदर्शी छन् । भविष्यको अनुमान गर्न सक्छन्, मुलुक र जनतालाई सँधै माया गर्छन् । देशको थप विकास र जनतालाई कसरी थप सुविधा प्रदान गर्ने भन्ने बारेमा दिनरात खटेको देखिन्छ । यहाँका मानिस पनि निकै मेहनती र मिलनसार पाएको छु । तपार्इंहरुको देश विश्वको सबैभन्दा सुरक्षित मुलुकको रुपमा चिनिन्छ ।

चिनियाँहरु आफूलाई मात्र होइन, विश्वका सबैलाई समृद्ध र खुशी देख्न चाहन्छन् । बेल्ट एण्ड रोड इनिसिएटिभ्स यसको उदाहरण हो । बेल्ट एण्ड रोड इनिसिएटिभ्सले विश्वका १४९ देशसँग सहकार्य गरेको छ । यसरी, चीनले विश्वभर विकास पहल र ठूला परियोजनामा सहयोग प्रदान गरिरहेको छ ।
विगत तीन दशकमा चीन गरिबीमुक्त मुलुक बनेको छ । सबै जनता खुशी छन् । यो देखेर मलाई पनि औधी खुशी र गर्व लाग्छ । यो सबै चिनियाँ कम्युनिष्ट पार्टी र यसका सक्षम नेताहरूको कारणले सम्भव भएको हो । त्यसैले चिनियाँ नागरिक निकै भाग्यमानी छन् ।
म पहिलो पटक २३ वर्षअघि यिवु आएको थिएँ । लगातार १३ वर्षदेखि यहाँ बस्दै आएको छु र व्यापार गर्छु । यहाँ हामीहरू एक आपसमा माया र विश्वास साट्छौँ । धैर्य र साहस हाम्रो अमूल्य नमूना बनेको छ ।
संसारमा चीन मात्र यस्तो देश हो जसले सत्य र इमानको पैरवी गर्दै आएको छ । सबैलाई भाइचारा र सहयोगी व्यवहारका साथै कुनै पनि देशलाई आपत पर्दा सहयोग गर्ने पहिलो पंक्तिमा चीन नै उभिने गर्छ ।
जतिबेला म पहिलो पटक यस सहरमा आएको थिएँ त्यतिबेला यो शहर त्यति विकसित थिएन । आज, विकासप्रेमी र दूरदर्शी चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरू, मेहनती र अनुशासित जनताका कारण विश्वभर प्रसिद्ध छ।
यो शहर पनि सुरक्षित छ, मानवीय वातावरणले भरिएको छ । यहाँ बसोबास गर्नेमा पारस्परिक सद्भाव र सहयोगको भावना छ । त्यसैले संसारभरका मानिसहरू यस शहरमा आउन र बस्न उत्सुक छन् । म पनि तीमध्ये एक हुँ । मलाई यहाँको पार्टी नेतृत्व धेरै मन पर्छ । उहाँहरूले हामीलाई धेरै माया गर्नुहुन्छ र यहाँका स्थानीयले पनि हामीलाई धेरै सहयोग गर्दै आउनुभएको छ । त्यसैले म गर्वका साथ भन्न चाहन्छु कि यिवु शहर मेरो कार्यस्थल मात्र होइन, मेरो कर्मथलो पनि हो । त्यसैले मलाई यो शहर औधी मनपर्छ ।
म एक सामान्य व्यापारी हुँ । म यहाँबाट विभिन्न देशमा सामानहरू निर्यात गर्छु । यसबाट हुने आम्दानीले आफ्नो र परिवारको गुजारा गर्दै आएको छु । म एक सामाजिक प्राणी पनि हुँ । मलाई समाजमा सद्भाव र मित्रता बढाउन निकै मन पर्छ, । त्यसैले म व्यापारमा यदाकदा उत्पन्न हुने व्भििन्न प्रकारका असमझदारी र विवादलाई कसरी सहज रूपमा दुबै पक्षलाई आमनसामने राखेर सौहार्द रूपमा समस्या समाधान गर्न सकिन्छ भनेर सोच्छु । एक मध्यस्थकर्ताको रुपमा आफ्नो समाजप्रतिको जिम्मेवारी पनि वहन गरिरहेको छु । आफ्नो नौ वर्षे कार्यकालमा एक सयभन्दा बढी विवाद समाधान गर्न पाएकोमा र पहिले झगडा गर्ने मानसिकतामा क्रुद्ध भएर आएका दुबै पक्ष हामीहरूको प्रयासपछि हाँस्दै र हात मिलाएर संगसंगै पुनः व्यापार व्यवसाय गर्ने वा मिलेर बस्ने वाचा गर्दै हिँडेको देख्छौं । हाम्रो मध्यस्थ कार्यालयबाट उनीहरु खुशीले फर्केको देख्न पाउँदा भने धेरै नै आनन्द आउँछ ।

डेढ दशकको चीन बसाइ र वैदेशिक व्यापारमा मलाई सहयोग गर्दै आएका मेरा सयौं कर्मचारी साथीहरू हाल आ–आफ्नै कारखाना र वैदेशिक व्यापारमा धेरै सफल र धनी भएको देख्दा पनि मलाई खुशीसँगै आत्मसन्तुष्टि मिलेको छ ।
मलाई याद छ, म सानो छँदा मलाई मेरी आमाले भन्ने गर्नुहुन्थ्यो ‘अरुलाई सहायता गर्यो भने त्यो सहायता दशौँ गुणाले बढी भएर आफैँमा फर्किन्छ । कसैलाई तिमीले गुलाफको फूल उपहार दिए पनि त्यसको सुगन्ध तिम्रो हातमा नै रहिरहन्छ ।’
मलाई चिनियाँ नागरिकले निरन्तर गर्ने त्यस्तो माया र विश्वास देखेपछि साढे चार दशक अघिको यो कुरा सत्य भएको महशुस हुन थालेको छ ।
मेरा विचार धैर्यतापूर्वक सुनिदिनु भएकोमा सबैलाई हार्दिक धन्यवाद ।
टिप्पणीहरू