पहिले उताको र अहिले यताको समस्या उस्तै

पहिले उताको र अहिले यताको समस्या उस्तै

गण्डकी प्रदेश सरकारले गत वैशाख ३१ गते ‘राइड सेयरिङ’लाई भाडाका सवारी साधनको रुपमा प्रयोग गर्न ‘गण्डकी प्रदेश राइड सेयरिङ नियमावली, २०८२’ राजपत्रमा प्रकाशित गरेपछि उक्त कानुन रोक्न माग गर्दै यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । शुक्रबारदेखि थालिएको विरोध कार्यक्रमलाई आज देशव्यापी भाडाका सवारी साधन बन्दमा परिणत गरिएको छ।

बन्दका कारण काठमाडौँबाट बाहिर जाने सवारी साधन पूर्णरूपले बन्द छन् । नयाँ बसपार्कमा बसको काउन्टरहरू पनि बन्द गरिएको छ । काठमाडौँ उपत्यकाभित्र नगण्य मात्रामा बस तथा ट्याक्सीहरु गुडेका छन् । तर, ‘राइड सेयरिङ’ का मोटरसाइकल तथा स्कुटरहरुलाई यात्रु ओसार्न भ्याइनभ्याइ देखिन्छ ।

काठमाडौंमा केही वर्षदेखि कार्यान्वयनमा रहेको ‘राइड सेयरिङ’ प्रचलन पोखरामा पनि गर्न खोजेपछि व्यवसायीहरु क्रुद्ध भएका हुन् । अरु जे माग अगाडि तेर्साए पनि उनीहरुको आन्दोलनको चुरो ‘राइड सेयरिङ’ प्रतिबन्ध नै हो । तर सरकारले प्रतिबन्धको सट्टा नियमनका लागि नियम बनाएपछि यातायात व्यवसायीहरुले आफ्नो व्यवसायमा धक्का पुगेको महशुस गरेका हुन् ।

प्रविधिले ल्याएको नयाँ व्यवस्था कार्यान्वयनमा अन्यत्र पनि यस्तै समस्या उत्पन्न हुने गरेको देखिन्छ । उदाहरणका लागि छिमेकी मित्रराष्ट्र चीनको राजधानी बेइजिङमा पनि ‘राइड सेयरिङ’ को कार्यान्वयन गर्ने क्रममा हजारौं ट्याक्सी चालकहरुले विरोध जनाएका थिए । यहाँ पठाओ, इन ड्राइभ भनेझैँ बेइजिङमा डिडी ‘राइड सेयरिङ’ प्लेटफार्म निकै प्रचलित छ ।

डिडी ‘राइड सेयरिङ’ कार्यान्वयनको क्रममा सेवाग्राही खुशी देखिन्थे भने ट्याक्सी चालकहरु क्रुद्ध । सस्तो र सजिलो भएकाले सेवाग्राही खुशी हुनु स्वाभाविक हो । समस्या समाधानका लागि चिनियाँ अधिकारीहरुले ‘राइड सेयरिङ’ अनुगमन कानुन र नियमावलीको तर्जुमा गरे । तर, यहाँ त्यस्तो कानुन नै बनाउन नहुने माग तेर्साइएको छ ।

बेइजिङको त्यतिबेलाको समस्या समाधानबारे एकजना चिनियाँले भने, ‘राइड सेयरिङका सवारी साधनका चालकको बारेमा स्पष्ट व्यवस्था गरियो । जो पायो उसले चलाउन नपाइने ट्याक्सी चालक सरहको योग्यता हुनुपर्ने व्यवस्था गरियो ।’ अहिले बेइजिङमा ५५ हजार ट्याक्सी चालक र ८१ हजार पूर्णकालीन राइड सेयरिङ चालक सबै खुशीसाथ आफ्नो काम गरिरहेका छन् ।

नियमनको व्यवस्थापछि सार्वजनिक यातायात र तिनका चालक तथा मालिकहरुलाई कम हानी पुगेपछि उनीहरु खुशी भएका हुन् । विश्वको कुनैपनि सहरमा रहेका ट्याक्सी त्यहाँका जनसंख्या र ग्राहकको निम्ति पर्याप्त हुँदै हुँदैन ।
 

टिप्पणीहरू