शैक्षिक क्षेत्रको विकास तथा अनुसन्धानमा उद्योग व्यवसायी र विश्वविद्यालयबीच सहकार्य

शैक्षिक क्षेत्रको विकास तथा अनुसन्धानमा उद्योग व्यवसायी र विश्वविद्यालयबीच सहकार्य

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल विश्वविद्यालयले शैक्षिक क्षेत्रको विकास तथा अनुसन्धान क्षेत्रमा सहकार्य गर्ने भएका छन् । 

महासंघ र विश्वविद्यालय पदाधिकारीबीच हालै भएको भेटवार्तामा मुलुकको शैक्षिक क्षेत्रको विकास र अनुसन्धान क्षेत्रमा सहकार्य गरी अघि बढ्न दुवै पक्ष सकारात्मक देखिएका हुन् । 

संयुक्त अनुसन्धान र नवप्रवर्तन, उद्यमशीलता विकास विद्यार्थीको इन्टर्नशिप र रोजगारीका अवसर सिर्जनाजस्ता विषयमा सहकार्य गर्ने समझदारी भएको हो । 

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले यो सहकार्यले निजी क्षेत्र र शैक्षिक संस्थाबीचको खाडललाई कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । 

उनले भने, ‘उद्योग–व्यवसायले चाहेको दक्ष जनशक्ति उत्पादन गर्न र युवालाई रोजगारीका अवसर प्रदान गर्न यो सहकार्य फलदायी हुनेछ । यस्तो सहकार्यका लागि हामी सकारात्मक नै छौं ।’

विश्वविद्यालका कुलपति डा. विन्दुनाथ लोहनीले नेपालको शैक्षिक प्रणालीलाई विश्व बजारसँग जोड्न यो सहकार्यले महत्वपूर्ण भूमिका खेल्ने बताए । 

‘हाम्रो लक्ष्य विद्यार्थीलाई सैद्धान्तिक ज्ञान मात्र नभई व्यावहारिक सीप र उद्यमशीलताको भावना प्रदान गर्नु हो । महासंघसँगको सहकार्यले त्यो लक्ष्य प्राप्तिमा ठूलो योगदान दिनेछ भन्ने हाम्रो विश्वास छ,’ उनले भने । 

त्यस्तै, उपकुलपति डा.अर्जुन कार्कीले सीपयुक्त, दक्ष र गुणस्तरीय जनशक्ति उत्पादन विश्वविद्यालयको मुख्य उद्धेश्य रहेको उल्लेख गर्दै त्यसको लागि महासंघसंगको सहकार्य आवश्यक रहेको बताए । 

छलफलमा विद्यार्थीमा व्यावहारिक ज्ञान, सीप विकास र रोजगारीका अवसर प्रदानसँगै उद्योग–व्यवसायको आवश्यकताअनुरुप दक्ष जनशक्ति उत्पादन गर्नेजस्ता विषयबारे समेत चर्चा गरिएको जनाइएको छ । 

साथै, महासंघ र विश्वविद्यालयबीच पाठ्यक्रम विकास, तालिम कार्यक्रम र संयुक्त परियोजनाको सम्भाव्यताका विषयमा थप छलफल र सहकार्य गर्ने समझदारीसमेत भएको छ ।

टिप्पणीहरू