रास्वपा फकाउने कांग्रेसको प्रयास असफल

रास्वपा फकाउने कांग्रेसको प्रयास असफल

प्रतिनिधिसभाको जारी अवरोध हटाउन राष्ट्रिय स्वतन्त्र पार्टीलाई मनाउने सत्तारुढ नेपाली कांग्रेसको प्रयास खेर गएको छ । 

विपक्षी दलहरुको बैठक र सभामुखसँगको छलफलपछि आज दिउँसो संसद भवनको शंकर हलमा कांग्रेस र रास्वपाका संसदहरूले छलफल गरेका थिए । तर, रास्वपाका नेताहरुले गृहमन्त्रीको राजीनामाको बटमलाइनबाट दायाँबायाँ नहुने अडान राखेपछि निष्कर्षविहीन टुंगिएको हो । 

छलफलमा कांग्रेसको तर्फबाट उपसभापति पूर्णबहादुर खड्का र प्रमुख सचेतक श्यामकृष्ण घिमिरे थिए भने रास्वपाबाट उपसभापति डा. स्वर्णिम वाग्ले र सचेतक सन्तोष परियार सहभागी थिए । कांग्रेसले मिलेर संसद चलाउन गरेको प्रस्तावलाई रास्वपाले अस्वीकार गरेको बुझिएको छ । 

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षीहरुले ससंद अवरोध गरिरहेका छन् । प्रमुख प्रतिपक्ष माओवादी केन्द्र र एकीकृत समाजवादी संसद खोल्न लचक भए पनि रास्वपाले मानिरहेको छैन । 

यता एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्धा दर्ता गरेपछिको तरंग संसद भवनसम्म पुगेको छ । एकीकृत समाजवादीका नेताहरुले सत्तारुढ कांग्रेस र प्रमुख प्रतिपक्ष माओवादी केन्द्रका नेतासँग अध्यक्षमाथिको आरोप र मुद्दा दर्ताबारे संसद भवन परिसरमा छलफल गरेका हुन् । 

कांग्रेस महामन्त्री गगन थापा, एसका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, माओवादी केन्द्रका शक्ति बस्नेत नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलगायत त्यहाँ सहभागी थिए ।
 

टिप्पणीहरू