भोलि बकर ईद,आइतवार छुट्टी छैन

भोलि बकर ईद,आइतवार छुट्टी छैन

मुस्लिम धर्मावलम्बीहरुको महान् पर्व बकर ईद (ईद उल अजहा) यस वर्ष सार्वजनिक बिदाको दिन परेको छ । गृह मन्त्रालयले आज सूचना प्रकाशित गर्दै भोलि (शनिबार) बकर ईद परेको जनाएको छ । मुस्लिम आयोगको पत्रअनुसार भोलि ईद परेको जानकारी पाएको उल्लेख गर्दै गृहले देश–विदेशमा रहेका ईस्लाम धर्मावलम्बीलाई शुभकामना व्यक्त गरेको छ । 

‘इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईद (ईद उल अजहा) का दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेको सन्दर्भमा मुस्लिम आयोगको पत्रबाट मिति २०८२ साल जेठ २४ गते शनिबार (सार्वजनिक बिदा) का दिन बकर ईद (ईद उल अजहा) परेको व्यहोरा जानकारी हुन आएको हुँदा यस वर्षको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका इस्लाम धर्मावलम्बीहरुका साथै सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा मन्त्रालय हार्दिक शुभकामना व्यक्त गर्दछ’,सूचनामा भनिएको छ ।  

गत फागुन ११ गते प्रकाशित नेपाल राजपत्रमा बकर ईदको दिन सार्वजनिक बिदा दिने उल्लेख छ । तर,नेपालमा शनिबार सार्वजनिक बिदा हुने हुँदा ईदका लागि छुट्टै बिदा दिन नपरेको हो । बकर ईद मुस्लिम धर्मावलम्बीको दोस्रो ठूलो पर्व हो । बिहान नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गरेर र खसीको मासु खाँदै यो पर्व मनाउने चलन छ ।

टिप्पणीहरू