कोरोना संक्रमण : उता भसक्कै, यता फुक्काफाल

भारतमा केही समयता तीव्र रुपमा फैलिएको कोरोना संक्रमणको जोखिम नेपालमा पनि बढ्दै गएको छ । छिमेकमा दिनप्रति दिन कोरोना संक्रमित र मृत्यु हुनेको संख्या बढिरहँदा यता पनि कोरोना संक्रमित देखिन थालेको छ ।
भारतको नयाँ दिल्ली, केरला, महाराष्ट्रलगायत विभिन्न राज्यमा कोरोना संक्रमण तीव्र रुपमा फैलिरहेको छ । हालसम्म चार दर्जन बढीको ज्यान गइसकेको छ । छिमेकमा कोरोना भयावह बन्दा खुल्ला सिमानाका कारण नेपालमा पनि त्यसको असर देखिने स्वाभाविक छ ।
तर, खुला सीमाना र नाकामा सामान्य सुरक्षासमेत नअपनाइँदा मुलुकमा पुनः कोरोनाले आंतक मच्चाउने डर छ । अस्ति कैलालीको गौरीफन्टा नाका भएर घर फर्किन लागेका तीन नेपालीमा कोरोना संक्रमण भेटियो । उनीहरु दिल्ली हुँदै आएका थिए ।
यसले मुलुकमा कोरोना भित्रिएको पुष्टि र जोखिम बढ्दै गएको देखाएको छ । पछिल्लो समय भारतबाट नेपाल भित्रिने पश्चिमी सीमा नाकामा घर फर्किने नेपालीको भीड छ । दैनिक सयौंको संख्यामा भारतका विभिन्न ठाउँबाट मानिसहरु नेपाल भित्रिरहेका छन् ।
यद्यपि, कोरोना जाँच गर्ने एन्टिजेन किट नै नहुँदा भारतबाट आइरहेका मानिसमा कोरोना संक्रमण छ वा छैन ? भनी परीक्षण गर्न सकिएको छैन । कोरोना परीक्षणबिनै धमाधम सीमा नाकाबाट मानिसहरु नेपाल भित्रिरहेका छन् ।
कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफन्टा, बाँकेको जमुनाहालगायत नाकाबाट दैनिक सयौंको संख्यामा मानिसहरु नेपाल प्रवेश गरिरहेका छन् । भारतसँग जोडिएका यी प्रमुख नाकाबाट यसरी दिनहुँ सयौं व्यक्ति नेपाल भित्रिँदासमेत एन्टिजेन किट अभावले कोरोना परीक्षण हुन सकेको छैन ।
जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड फोकल पर्सन सिद्धराज भट्ट किट उपलब्ध भएपछि परीक्षण शुरु गरिने बताउँछन् । उनले भने, ‘हामीसँग अहिले एन्टिजेन किट छैन । मागेका छौं । आएपछि परीक्षण शुरु गछौं । तर, तत्काल नाकामा कसरी काम गर्ने भनेर माथिल्लो तहबाट कुनै निर्देशन आएको छैन ।’
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय, आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी हेमराज जोशी कोरोना जाँच्ने किट अभाव हुँदा नाकामा परीक्षण रोकिएको बताउँछन् । उनका अनुसार प्रदेश र केन्द्र सरकारसँग आवश्यक किट मागिएको छ ।
यता, बाँकेको जमुनाहा हेल्थ डेस्ककी इन्चार्ज सुनिता मरिया भारतबाट नेपाल भित्रिनेको संख्या बढिरहेको तर किट नहुँदा कोरोना परीक्षण गर्न नसकेको बताउँछिन् । ‘जाँच हुनुपर्ने हो । किनकि दुवैतिरबाट आउने–जाने क्रम बढ्दो छ । यदि एन्टिजेन किट भएको भए के कतिमा कोरोना छ वा छैन भनेर थाहा हुन्थ्यो । त्यसअनुरुप सतर्कता र व्यवस्थापन गथ्र्यौं । तर, किट नहुँदा समस्या भयो,’ उनले भनिन् ।
उनका अनुसार किट नभएकै कारण कोरोना परीक्षण रोकिएको झण्डै एक वर्ष भएको छ । मरियाले थपिन्, ‘अरु नाकामा भइरहेको छ । यहाँ भएको छैन । हामी ब्रोडरमा बसेका छन् । तर, ब्रोडरबाट कोरोना भित्रिरहेको छ वा छैन ? भनेर हामी आफैंलाई थाहा छैन ।’
किट छैनः स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षण गर्ने एन्टिजेन किटको अभाव रहेको स्वीकारेको छ । मन्त्रालयका सूचना अधिकारी डा.भक्तबहादुर केसीले किट नभएको र सप्लाई प्रक्रिया अघि बढाएको जानकारी दिए ।
उनका अनुसार पछिल्ला केही वर्षयता कोरोना संक्रमण नदेखिएकाले किट आपूर्ति गरिएको थिएन । अहिले अचानक कोरोना संक्रमण पुष्टि हुँदा पहिलाका किट थौरै मात्र रहेकाले अभाव भएको हो ।
सूचना अधिकारी केसीले भने, ‘किट अभाव भएकै हो । हामीले यसरी कोरोना आउँछ भनेर सोचेका थिएनौं । यदि थाहा भएको भए पहिल्यै केही न केही गरिन्थ्यो । तैपनि, अहिले सतर्क भइसकेका छौं । किटको सप्लाई प्रक्रिया अघि बढाएका छौं ।’
कोरोना संक्रमण पुष्टि भएसँगै सीमा, नाकामा परीक्षणलाई तीव्रता दिएको र अस्पताल तथा स्वास्थ्यकर्मीलाई पनि सतर्क गराएको उनको भनाइ छ । ‘नाकामा टेस्ट बढाइएको छ । अस्पताल र स्वास्थ्यकर्मीलाई अर्लट गरेका छौं । शंकास्पद वा कोरोनाका लक्षण भएका कोही आएमा तत्काल जानकारी गराउन र आइसोलेसनमा राख्न निर्देशन दिएका छौं,’ केसीले थपे ।
‘पहिलेजस्तो घातक हुँदैन तर लापरबाही हुनभएन’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकी कोरोना संक्रमण पुष्टि भएपनि पहिलेजस्तो घातक नहुने बताउँछन् । यद्यपि, लापरबाही गर्न नहुने उनको ठहर छ ।
‘कोभिड देखिएपनि पहिलेजस्तो घातक हुने छैन । अस्पतालमा शैया नपुग्ने, मानिसको ज्यानै जानेसम्म चाँहि हुँदैन । किनकि हाम्रो तयारी धेरै छ । स्वास्थ्य संस्थामा जनशक्ति तालिम प्राप्त छन् । पूर्वाधार पनि धेरै थपिएका छन् । योभन्दा पनि ठूलो कुरा हामी कहाँ शत प्रतिशतले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । जसले गर्दा संक्रमण भएपनि जटिल अवस्था ल्याउँदैन,’ प्रवक्ता बुढाथोकीले भने ।
‘हामी सुरक्षित त छौं । तर, त्यसो भन्दैमा लापरबाही चाँहि हुनुभएन,’ उनले भने, ‘मुखमा मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने, साबुन पानीले हात धुने, भीडभाडमा नजाने र कोरोनाको लक्षण देखिएमा सतर्क भइहाल्नुपर्छ ।’
यता, तीन जनामा पुष्टि भएको कोरोनाको भेरियन्ट हालसम्म पत्ता लागेको छैन । मन्त्रालयका अनुसार एन्टिजेन पोजिटिभ देखिएको किट सम्बन्धित स्वास्थ्य कार्यालयले फालेकोले भेरियन्ट पत्ता लगाउन समय लागेको हो ।
कुन–कुन देशमा फैलिँदैछ कोरोना ?
हाल भारत, सिंगापुर, हङकङलगायत एसियाली मुलुकमा कोरोना संक्रमित बढ्दै गएका छन् । भारत र सिंगापुरमा कोरोनाको ’जेएन १‘ भेरिएन्ट पाइएको छ । यो ओमिक्रोनकै एक सब–भेरिएन्ट हो ।
यसबाट हुने लक्षण सामान्य रुघाखोकीजस्तै हुने चिकित्सकहरु बताउँछन् । हालसम्म यो खतरनाक देखिएको छैन । तर, यसले तीव्र गतिमा संक्रमण फैलाउन सक्ने भएकाले बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीहरुलाई विशेष सावधानी अपनाउन सुझाइएको छ ।
टिप्पणीहरू