‘डम्पिङ्ग साइट’ मा परिणत हुँदै धार्मिकस्थल
सडक छेउछाउ वा सार्वजनिक स्थलमा फोहोर फाल्नु अपराध हो । आफ्नो घर वा पसलबाट निस्किएको फोहोर सडक वा सार्वजनिक स्थलमा ल्याएर फ्याँक्नेलाई कारबाही गर्ने कानुनी व्यवस्था छ । काठमाडौं महानगरपालिकाले सडक छेउछाउ वा सार्वजनिक स्थलमा फोहोर फाल्न रोक लगाएको छ । महानगरले पटकपटक सूचना जारी गरेर सडक छेउछाउ वा सार्वजनिक स्थलमा फोहोर नफाल्न आग्रह गर्दै आएको छ ।
अटेर गरेमा महानगरको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा (च) बमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ । सो ऐनअनुसार घर, कम्पाउन्ड तथा परिसरको फोहोरमैला सडक, फुटपाथ तथा अन्य सार्वजनिक स्थानमा फाल्ने, राख्ने वा थुपार्नेजस्ता कार्य गरेमा पाँच हजार रुपैयाँदेखि १५ हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।
महानगरको सूचनाको अवज्ञा गर्दै सडक वा सार्वजनिक स्थलमा फोहोर फाल्ने क्रम जारी छ । विश्व सम्पदा सूचीमा परेको र देश–विदेशका पर्यटकले आस्था राख्ने पशुपतिनाथ मन्दिरमा खुलेआम फोहोर फाल्ने गरिएको छ । पशुपतिनाथ मन्दिर परिसरमा पर्ने श्लेषमान्तक वन मृगस्थलीमा खुलेका प्रायःजसो होटलले झाडीमा फोहोर फ्याँक्छन् ।
होटलहरुले धार्मिक स्थललाई ‘डम्पिङ्ग साइट’ बनाएका छन् । त्यहाँको एक होटलको कर्मचारीलाई फोहोर फ्याँक्दै गरेको अवस्थामा भेटेपछि एक अधिवक्ताले सम्झाउने कोशिस गरिन् । धार्मिक स्थलमा ल्याएर फोहोर फ्याँक्ने हो ? भनि प्रश्न गर्दा उनले भन्छन्,‘फोहोर फाल्ने ठाउँ नै यहाँको चाँहि यहीँ हो । महानगरलाई बोलाउँदा पनि आउँदैन । कहिलेकाँही फ्याँक्ने हो, यस्तै हो ।’ त्यसपछि ती अधिवक्ताले सामाजिक सञ्जालमा स्ट्याट्स लेखेर सरोकारवालाको ध्यानाकर्षण गराएकी छिन् ।
‘पशुपति विकास कोषको ध्यानाकर्षण गराउन चाहन्छु । मृगस्थलीको छेउमै रहेको एउटा रेस्टुरेन्ट, दिनभरी खाएको फोहोर प्लास्टिकका भाँडाकुँडा ल्याएर साँझको समयमा मृगस्थलीको अगाडि कुनामा फाल्ने गर्नुभएको रहेछ’,उनले लेखेकी छिन्,‘मैले सम्झाउने कोसिश गर्दा, हाम्रो फोहोर फ्याँक्ने ठाउँ यहीँ हो भन्ने जवाफ दिनुभयो । धार्मिक स्थलमा यसरी साँझको समयमा लुकीलुकी फोहोर फाल्न मिल्छ, पशुपति विकास कोषको ध्यानाकर्षण होस् र रेस्टुरेन्ट सञ्चालकलाई कारबाही होस् भन्ने चाहन्छु ।’
टिप्पणीहरू