डिजिटल बजारमा व्यवसायी र उपभोक्तालाई जोड्दै ‘सफिड्रप’

डिजिटल बजारमा व्यवसायी र उपभोक्तालाई जोड्दै ‘सफिड्रप’

प्रविधिको बढ्दो प्रयोगसँगै एमएसपी सोलुसनले ‘सफिड्रप’ अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ । अनलाइन सपिङलाई सहज बनाउने लक्ष्यअनुरुप ल्याइएको उक्त प्लेटफर्मले व्यवसायी र उपभोक्तालाई डिजिटल बजारमा जोड्ने विश्वास लिइएको छ । 

एमएसपी सोलुसनका अध्यक्ष रोशन भुसालले व्यवसाय सञ्चालन खर्च घटाउनसमेत सफिड्रपले सहयोग पुग्ने बताए । उनले भने, ‘अहिले अधिकांश प्लेटफर्मले उच्च कमिसन लिइरहेको गुनासो सुनिन्छ । तर, हामीले सफिड्रपमा यो समस्या कम गर्न नयाँ शैली अपनाएका छौँ ।’

उनका अनुसार व्यवसायीले सफिड्रप डटकममा साइनअप गरी आफ्नो व्यवसायको विवरण राख्नुपर्छ । अनि कम्पनीले भेरिफाइ गरेपछि प्याकेज छनोट गर्न सकिने व्यवस्था छ । न्युनतम प्याकेजमा एक सय ५० प्रकारका सामान बिक्री गर्न मासिक एक सय रुपैयाँ लाग्छ । तर, अहिले यो निःशुल्क छ । 

त्यस्तै, प्रिमियम प्याकेजमा साढे दुई हजार बढी प्रकारका सामान बिक्री गर्न मासिक ६ हजार रुपैयाँ लाग्छ । विभिन्न सात प्रकारका प्याकेजमध्ये न्यूनतमबाहेक अन्य प्याकेजमा ५० प्रतिशत छुट रहेको अध्यक्ष भुसालको भनाइ छ । 

उनका अनुसार सामान बिक्रीको दुई दशमलब ५ प्रतिशत बजार व्यवस्थापन र शून्य दशमलब ५ प्रतिशत उपभोक्ताको रिवार्ड प्वाइन्टका लागि लिइन्छ । जसमध्ये शून्य दशमलब ५ प्रतिशत रकम उपभोक्ताले पछि सामान किन्दा प्रयोग गर्न सक्छन् । यो शुल्क महिनाको अन्त्यमा संकलन हुन्छ । 

सामान बिक्री भएपछि व्यवसायीको खातामा तुरुन्तै पैसा जम्मा हुने अध्यक्ष भुसालको दावी छ । यसले सामान बेचेको लामो समयपछि पैसा आउने समस्या पनि समाधान हुने अपेक्षा गरिएको छ । 

योसँगै व्यवसायीले आफ्नो ड्यासबोर्डबाट डिजिटल वालेटसमेत जोड्न सक्नेछन् । न्यून शुल्कका कारण उपभोक्तालाई सामानको मूल्य सस्तो पर्नेछ । उपभोक्ताले सोफीड्रपमा साइनअप गरेर कम्पनी छनोट गरी अनलाइन वा भौतिक रुपमै सामान किन्न सक्नेछन् ।

टिप्पणीहरू