सेवाग्राहीको भीडपछि परिचयपत्र सेवाको समयावधि बढाइयो

सेवाग्राहीको भीडपछि परिचयपत्र सेवाको समयावधि बढाइयो

मकवानपुरमा अब राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा कार्यालय समयबाहेक पनि उपलब्ध हुने भएको छ । सेवाग्राहीको बढ्दो चापलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय बढाएको हो । 

यसअघि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सेवा प्रवाह हुँदै आएकोमा भोलिदेखि बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म राष्ट्रिय परिचयपत्र सेवा प्रवाह गरिने सिडियो कार्यालयको भनाइ छ । 

कार्यालयका प्रशासकीय अधिकृत गुणराजप्रसाद न्यौपानेका अनुसार केही दिनयता परिचयपत्रको विवरण दर्ता गराउन र तयार भई आएको कार्ड लिन आउने सेवाग्राहीको संख्या बढ्दै गएको छ । 

तर, सीमित जनशक्तिका कारण समस्या परेपछि सेवा प्रवाहको समय बढाइएको हो । जारी सूचनामा भनिएको छ, ‘दैनिक बढीभन्दा बढी सेवाग्राहीलाई छिटो छरितो तवरले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रदान गर्न २०८२ जेठ २६ गतेदेखि बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म कार्यालयको राष्ट्रिय परिचयपत्र शाखा खुला रही सेवा प्रवाह गरिने जानकारी गराइन्छ ।’

टिप्पणीहरू