वित्त आयोगविरुद्धको उजुरी दुई महिनापछि दर्ता

वित्त आयोगविरुद्धको उजुरी दुई महिनापछि दर्ता

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका पदाधिकारीविरुद्ध प्रतिनिधि सभाको अर्थ समितिमा परेको उजुरी दर्ता भएको छ । दुई महिनाअगाडि पुगेको उजुरी गत साता दर्ता भएको हो । 

आयोगमा भएको अनियमितता र पदाधिकारीको मनोमानीविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का एक केन्द्रीय सदस्यले अर्थ समिति र राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी हालेका थिए । आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भन्दै सुशासन समितिले सो उजुरी अर्थमा पठाइदियो । 

अर्थले भने उजुरी दर्ता गर्न आलटाल गर्दै आएको थियो । उजुरी दर्ता गर्न उदासीनता देखाएर आफ्नो जिम्मेवारीबाट भागेको भन्दै चर्को विरोध भएपछि अर्थले गत जेठ १९ गते दर्ता गरेको हो । समितिका उपसचिव प्रदीप गुरागाइँले उजुरी दर्ता भएको बताए । जसको दर्ता नम्बर ६७ रहेको छ । 

एउटा उजुरी दर्ता गर्न महिनौं लगाएको अर्थले छलफल अगाडि बढाउन वर्षौं लगाउने होकि भनि सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । ‘बल्लतल्ल उजुरी दर्ता भएको छ । अब छलफल कहिलेदेखि गर्छन् भन्ने हो ? उजुरी दर्ता गर्न महिनौं लगाएकोले छलफल अगाडि बढाउन वर्षौं लगाउने होलान्’, समितिका एक सदस्यले गुनासो गरे ।  

जनआस्थासँग उनले भने,‘उजुरी दर्ता भइसकेको छ । अब छिट्टै छलफलमा आउँछ ।’  यस विषयमा समिति सभापति सन्तोष चालिसेसँग बुझ्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन ।

मुलुकको प्रमुख संवैधानिक निकायमध्येको एक वित्त आयोग बेतिथिको थलो बनेको छ । अनुदान बाँडफाँड, सवारी कर बाँडफाँड, रोयल्टी संकलन र बाँडफाँडलगायत अर्थसम्बन्धी महत्वपूर्ण काम गर्नुपर्ने आयोग गठन भएदेखि नै कुशासनको बाटोमा हिँडेको आरोप छ । 

आयोगबाट सम्पादित अधिकांश काम अपारदर्शी र प्रश्न उठाउनुपर्ने खालको छ । निर्णय प्रक्रियादेखि अनुदान बाँडफाँडमा मनोमानी गरेको भन्दै सदस्य अमरराज मिश्र सर्वोच्च अदालत पुगेका छन् । 

आयोग अध्यक्षविही भएको पनि महिनौं बितिसकेको छ । ६ वर्षे कार्यकाल सकाएर अध्यक्ष बालानन्द पौडेल घर गएसँगै सदस्य मिश्रले पनि आयोग छोडेका छन् । हाल आयोगको कामकारबाही योग्यता नपुगेको भन्दै सर्वोच्चमा मुद्दा परेका दुई सदस्यले सञ्चालन गरिरहेका छन् ।

 

टिप्पणीहरू