काँग्रेसको मध्यमार्गी प्रस्तावमा विपक्षीको छलफल, सदनको अवरोध कायमै

काँग्रेसको मध्यमार्गी प्रस्तावमा विपक्षीको छलफल, सदनको अवरोध कायमै

दलालसँग साँठगाँठ गरेर अध्यागमनका कर्मचारीले भिजिट भिसामा करोडौँ कुम्ल्याएको काण्ड छानबिनका लागि समिति गठनको सुनिस्चितता नभएसम्म विपक्षी दलले संसदको अवरोध कायमै राख्ने भएका छन् ।  

संसद् भवन नयाँ बानेश्वरमा आज बसेको विपक्षी दलको बैठकले सत्ता पक्ष समिति गठन गर्न तयार नहुँदासम्म संसद खोल्न नदिने निर्णय लिएको छ । आज बस्ने प्रतिनिधिसभा बैठकअघि छानबिन समितिको मागबारे साझा धारण बनाउन विपक्षी दलहरूको बैठक बसेको हो । 

यसअघि यस प्रकरणमा नेपाली काँग्रेसले राखेको मध्यमार्गी प्रस्तावमा विपक्षी दल सहमत भएको भनिएको थियो । प्रस्तावमा विपक्षीले गृहमन्त्रीको राजीनामाको अडान छोड्ने अनि सत्तापक्ष छानविन समिति बनाउन राजी हुने भनिएको थियो । तर, समिति गठन गर्न सरकार तत्पर नदेखिएको विपक्षीहरुको आरोप छ । 

भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी दलले लगातार सदन अवरुद्ध गरेपछि बजेटमाथिको छलफल प्रभावित भइरहेको छ । जसका कारण सदनको गत्यावरोध अन्त्यका लागि दलहरु विभिन्न पक्षीय छलफलमा जुटिरहेका छन् । पछिल्लो समय सरकारको नेतृत्व गरिरहेको एमालेभन्दा एक कद अगाडि सरेर सत्तारुढ नेपाली काँग्रेसका नेताहरुले विपक्षी दलसँग लगातार वार्ता गरिरहेका छन् । शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो । 

सत्तापक्ष र विपक्षी दलबीच छानबिन समिति बनाउन समझदारी जुटेको तर सहमति पत्रको भाषामा भने कुरा नमिलेको बताइएको छ । सहमति नजुटेसँगै आज दिउँसो २ बस्ने तय भएको संसद् बैठक अनिश्चित बनेको छ ।

टिप्पणीहरू