विगत सम्झेर भविष्य बनाउँदै बाबुराम

विगत सम्झेर भविष्य बनाउँदै बाबुराम

डाक्टर बाबुराम भट्टराई अध्यक्ष रहेको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले दशौँ स्थापना दिवस मनाउने भएको छ । जेठ ३० गते प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा विशेष कार्यक्रम गरी वर्षगाँठ मनाउने तयारीबारे फेसबुकमा पोष्टर सार्वजनिक गरेर जानकारी गराइएको छ । 

पछिलो समय राष्ट्रिय राजनीतिमा खासै चर्चामा नरहेको यस पार्टीको स्थापना दिवस समारोहलाई भव्य बनाउने पनि भनिएको छ । पार्टी नेताहरूका अनुसार यस अवसरमा विगत १० वर्षको राजनीतिक यात्रा, आगामी कार्यदिशा र वैकल्पिक शक्ति निर्माणका सम्भावनाबारे कार्यक्रममा छलफल हुनेछ ।

संविधान बनेपछि माओवादी आन्दोलनको औचित्य सकिएको घोषणासहित बाबुरामले २०७२ सालमा आफ्नै नेतृत्वमा नयाँ शक्ति नामको पार्टी गठन गर्नुभएको थियो । शुरुमा कमल थापा शैलीमा एक्लै माओवादीबाट निस्कनुभएका उहाँले पछि माओवादीबाट बाहिरिएका र स्वतन्त्र अनुहारलाई मिलाएर पार्टी दर्ता गराउनुभएको थियो । तर, एक दशकको अवधिमा विभिन्न क्षेत्रीय पार्टीमा बिलिन हुँदै अहिले नेसपा (नयाँ शक्ति)को रुपमा उक्त पार्टी अस्तित्वमा छ ।  

कम्युनिष्ट विचारधारा पुरानो भएको निश्कर्षसहित ‘नयाँ गर्न’ हिंड्नुभएका बाबुरामले पार्टीको नाम पनि नयाँ शक्ति राखेर प्रारम्भका दिनमा राम्रै तामझाम देखाउनु भएको थियो । तर, ‘वैकल्पिक शक्ति’ भनेर बनाइएको उक्त पार्टी ०७४ को चुनावबाट किनारा लागेपछि उहाँ उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरमसँग मिल्न पुग्नुभयो ।

एकताकै क्रममा महन्थ ठाकुरको राजपासँग मिसिएर जनता समाजवादी पार्टी (जसपा) बन्यो । तर, महन्थ र उपेन्द्रको कलहले त्यो पार्टी पनि लामो समय सग्लो रहेन । महन्थले जसपा फुटाएर लोसपा बनाउँदा बाबुराम उपेन्द्रसँगै जसपामा बस्नुभयो । 

दुई वर्षअघि जसपा फुटाएर आफ्नै नेतृत्वमा नेपाल समाजवादी पार्टी (नेसपा) गठन गर्नुभयो । र, माओवादीमै मिसिनेगरी गत चुनावमा तालमेल गर्नुभयो । तर, न माओवादीसँग एकता भयो न उहाँको पार्टी नै सग्लो रह्यो । माओवादीसँगको एकतालाई लिएर पार्टीभित्र रडाको हुँदा महिन्द्रराय यादव र गंगानारायण श्रेष्ठहरु लाखापाख लागे । 

गत वर्ष नेसपाको पछाडि 'नयाँ शक्ति' फुर्को जोडेर पार्टी पुनर्गठन गर्नुभएका बाबुरामलाई विगतमा साथ दिने अधिकांशले छोडिसकेका छन् । उहाँसंग अहिले न जनयुद्धकालीन नेता-कार्यकर्ताको पंति छ न नयाँ शक्ति बनाउँदा साथ दिएका स्वतन्त्र र चर्चित अनुहार !

टिप्पणीहरू