संसद बैठक सँधै अवरुद्ध, कर्मचारीहरु कालोपट्टीमा हाजिर

संसद बैठक सँधै अवरुद्ध, कर्मचारीहरु कालोपट्टीमा हाजिर

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे डाकिएको छ । ‘भिजिट भिसा’ प्रकरणमा प्रतिपक्षी दलहरुको अवरोधका कारण जेठ १३ गतेदेखि लगातार प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ । 

आजको बैठकमा पनि हिजो अस्ति राखिएको बैठकमा झैँ उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२÷८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची छ ।

यता, निजामती कर्मचारी विधेयकमाथि विरोध गर्दै निजामती कर्मचारी युनियनहरुले आज पनि कालोपट्टीलाई निरन्तरता दिएका छन् । उनीहरु कर्मचारीमैत्री निजामती विधेयकको माग गर्दै आन्दोलनमा उत्रेका हुन् । यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिएका थिए ।
 

टिप्पणीहरू