काठमाडौँमा विशेषज्ञ मानसिक स्वास्थ्य सेवा

काठमाडौँमा विशेषज्ञ मानसिक स्वास्थ्य सेवा

काठमाडौं महानगरपालिकाले विशेषज्ञ मानसिक स्वास्थ्य सेवा संचालनमा ल्याएको छ । नेपाल मनोचिकित्सक संघ र चिकित्सा मनोविद् संघसँगको सहकार्यमा बबरमहलको शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट सेवा शुरु गरिएको हो । 

तनाव, एङ्जाइटी, डिप्रेसन, रक्सी तथा लागूऔषध पदार्थ कुलतजस्ता समस्या समाधानका लागि विशेषज्ञ मानसिक स्वास्थ्य सेवा शुरुवात गरिएको महानगरले जनाएको छ । आज पहिलो दिन एक–एक जना महिला र पुरुषले उक्त सेवा लिएका छन्। 

महानगरका अनुसार हरेक आइतबार र बुधबार बिहान १० बजेदेखि १२ बजेसम्म यो सेवा निःशुल्क प्रदान गरिने छ । सेवा प्रारम्भ कार्यक्रममा ११ नम्बरका वडाध्यक्ष हीरालाल तण्डुकारले लुकाउने गरिएको मानसिक समस्याका बारेमा खुलेर कुरा गर्ने वातावरण बनाएर सम्भावित जोखिम घटाउँदै जानुपर्नेमा जोड दिए । 

लुकाएकै कारण भित्रभित्रै समस्या जटिल बनेर व्यक्तिगत, पारिवारिक र सामाजिक जीवनमा असर पुगेको जनाउँदै उनले महानगरबाट थालिएको यो सेवाले महसुस हुनेगरी नतिजा दिने विश्वास व्यक्त गरे । कार्यक्रममा सहभागी पाटन अस्पतालमा कार्यरत मनोचिकित्सक डा.अनिमा पराजुलीले मानसिक समस्या समयमै पहिचान गरेर नियन्त्रण बाहिर पुग्नुअघि नै समाधानका उपाय खोज्नु उत्तम उपचार रहेको बताइन् ।
 
उनका अनुसार नकारात्मक वा पीडादायक सोचाई आउनु, दुःखित, चिन्तित, निराशा, डराउनु, छटपटी, उत्तेजना, आवेग, असहज शारीरिक लक्षण, असामान्य व्यवहार, दैनिक काममा असहज हुनुजस्ता व्यवहार देखिनु मानसिक समस्याका लक्षण हुन सक्छन् । यस्ता समस्या सकेसम्म अरुलाई सुनाउने नगरिएको डा. पराजुलीको अनुभव छ । 

यस्तै, पाटन अस्पतालमै कार्यरत चिकित्सा मनोविद् अनुपराज भण्डारी ठूला अस्पतालमा मानसिक समस्याका बिरामीको चाप थेग्नै कठिन हुने गरेको बताउँछन् । वडास्तरमा हुने यस्ता विशेषज्ञ परीक्षणले अस्पतालहरुमा बिरामीको चाप घटाउनुका साथै सेवाको गुणस्तर बढ्ने उनको धारणा छ ।

मानसिक समस्याबाट मुक्त हुन सकारात्मक सामनाका सिप अवलम्बन गर्नुपर्ने चिकित्सकहरुको सुझाव छ । विश्वास लाग्ने व्यक्ति वा परामर्शदातासँग मात्र कुराकानी गर्ने, व्यायाम गर्ने, पानी पिउने, गीत गाउने वा सुन्ने, गहिरो सास फेर्ने र सन्तुलित खानपान गर्नुपर्छ । साथै, मोबाइल, ल्यापटपजस्ता स्क्रीन मिडियाको प्रयोग घटाउनुपर्छ भने आफूले आफैंलाई नियन्त्रणमा राख्ने अभ्यास मानसिक समस्याको पहिलो उपचार रहेको चिकित्सकहरुको भनाइ छ । 

महानगरले थालेको विशेषज्ञ मानसिक स्वास्थ्य सेवामार्फत मानसिक समस्या घटाउने, परीक्षण र परामर्शबाट व्यक्तिको अवस्था पत्ता लगाएर उपचार गर्ने लक्ष्य लिएको बताएको छ ।

टिप्पणीहरू