भारतमा अर्को हवाई दुर्घटना

भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ । केदारनाथबाट तिर्थालू बोकेर गौरिकुण्ड जाँदै गरेको आर्यन एभिएसनको हेलिकप्टर आज बिहान सवा पाँच बजे दुर्घटनामा परेको हो ।
राजस्थान घर भएका पाइलट राजवीर सिंहले उडाएको दुर्घटनाग्रस्त हेलिकप्टरमा सवार सबैको घटनास्थलमै निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनाको कारणबारे नखुले पनि प्रत्यक्षदर्शीले खराब मौसमको कारण हेलिकप्टर अनिन्त्रित हुँदै खसेको बताएका छन् ।
दुर्घटनापश्चात अहिले केदारनाथ, गौरकुण्डसहित चारधामको हेलिकप्टर यात्रा बन्द गरिएको छ । एक हप्ताअघि ७ जुनमा पनि उत्तराखण्डकै रुद्रप्रयागमा खराब मौसमको कारण एउटा हेलिकोप्टरले सडकमा आकस्मिक अवतरण गर्नुपरेको थियो । त्यतिबेला हेलिकोप्टरको पंखा क्षतिग्रस्त भए पनि मानवीय क्षति भने भएको थिएन ।
गत बिहीबार गुजरात राज्यको अहमदावादमा एयार इण्डियाको विमान दुर्घटनामा परेको थियो । लण्डनका लागि उडेको विमान दुई मिनेटमै भूइमा खस्दा २७५ जनाले ज्यान गुमाएका छन् । एक साताभित्र एकपछि अर्को हवाई दुर्घटनाले छिमेकी भारत यतिबेला शोकमा डुबेको छ ।
टिप्पणीहरू