धवल छुटेपछि रविन्द्र अदालतमा हाजिर
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र अदालतमा उपस्थित भएका छन् । तीनकुनकोे हिंसात्मक घटनाका अभियुक्त उनी केही बेरअघि काठमाडौं जिल्ला अदालतमा हाजिर भएका हुन् ।
राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा मुद्दा चलाइएका मिश्रको न्यायाधीश तारादेवी महर्जनको इजलासमा थुनछेक बहस भइरहेको अदालतले जनाएको छ ।
गत चैत १५ गते राजावादीहरुले गरेको प्रदर्शन हिंसात्मक हुँदा दुई जनाको ज्यान जानुका साथै चार दर्जनभन्दा बढी घाइते भएका थिए । प्रदर्शनकारीले आगजनी र तोडफोड गर्दा अर्बौंको भौतिक क्षति हुन पुगेको हो ।
सो घटनामा प्रहरीले १०८ जनालाई मुद्दा चलाउन रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई बुझाएको थियो ।
तर, सरकारी वकिलले राप्रपाका महामन्त्री धवलशमेशर राणासहित वरिष्ठ उपाध्यक्ष मिश्र, आन्दोलनका ‘जनकमाण्डर’ दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध गत जेठ ११ गते जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
मुद्दा दर्ता हुनुअगावै क्यान्सर पीडित राणा उपचारका लागि भन्दै ‘राजनीतिक सहमति’ मा हाजिरी जमानीमा छुटेको थिए । त्यसयता सम्पर्कविहीन भएका उनी हिजो आफैं अदालत उपस्थित भएकोमा तीन लाख रुपैयाँ धरौटीमा छुटेका छन् ।
यस्तै, बन्दी प्रत्यक्षीकरणको आदेशले छुटेका मिश्र पनि त्यसयता सम्पर्कविहीन रहेकोमा आज अदालतमा हाजिर भएका हुन् । यही मुद्दामा दुर्गा प्रसाईँसहित सात जना भने पुर्पक्षका लागि कारागार चलान हुँदा बाँकीलाई अदालतले १० हजारदेखि एक लाखसम्म धरौटी लिएर छोडेको छ ।
टिप्पणीहरू