दिलभूषणको पक्षमा अन्तरिम आदेश निरन्तर

दिलभूषणको पक्षमा अन्तरिम आदेश निरन्तर

प्रहरीले  सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न नपाउने भएको छ ।

उच्च अदालत पाटनका न्यायाधीश टंकप्रसाद गुरूङ र टीकाराम आचार्यको इजलासले आज मुद्दाको अन्तिम किनारा नलागेसम्म उनलाई पक्राउ नगर्न आदेश दिएको हो ।

पाठकले दायर गरेको निषेधाज्ञा निवेदनमा उच्च अदालतले यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिँदै पक्राउ नगर्नू-नगराउनू भनेको छ । सञ्चार माध्यम वा पत्रकारले सम्प्रेषण गरेका सामग्रीबाट मर्का पर्ने व्यक्तिले प्रेस काउन्सिलमा उजुरी दिन सक्ने व्यवस्था भएकाले विद्युतीय कारोबारसम्बन्धी कसुरमा अनुसन्धान गर्नु नपर्ने आदेशमा उल्लेख छ ।

 ‘निवेदकले सम्प्रेषित गरेको सामग्रीबाट कसूर भएको भनि परेको जाहेरीको आधारमा निजलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्नेसम्मको अवस्था स्थापित भएको नदेखिदाँ प्रस्तुत मुद्दाको अन्तिम किनारा नभएसम्म निवेदकलाई पक्राउ नगर्नु–नगराउनु भनि उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम यस अदालतबाट मिति २०८२–०३–०२ मा जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । आदेशको जानकारी विपक्षीहरुलाई दिनू’,आदेशमा भनिएको छ । 

नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. आरजु राणाका छोरा जयवीरलाई जोडेर हिल्टन होटलसँग सम्बन्धित समाचार सम्प्रेषण गरेको आरोपमा पाठकविरुध्द केन्द्रीय साइबर ब्यूरोमा उजुरी परेको थियो । साइबर ब्यूरोको मागबमोजिम काठमाडौं जिल्ला अदालतले गत जेठ २७ गते उनीविरुध्द पक्राउ पुर्जी जारी गरेको थियो । 

त्यसयता सम्पर्कविहीन रहेका पाठकले असार १ गते उच्चमा निषेधाज्ञा निवेदन दायर गरेका थिए । न्यायाधीश ऋषि राजभण्डारीको इजलासले कानुनबमोजिमबाहेक पक्राउ नगर्न भन्दै असार २ गते अल्पकालीन अन्तरिम आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा झिकाउन भनेको थियो । आज छलफलपछि अन्तरिम आदेशले निरन्तरता पाएको हो ।

 


 

टिप्पणीहरू