पत्रकार धम्क्याएकोमा शाखाको आपत्ति

पत्रकार धम्क्याएकोमा शाखाको आपत्ति

नेपाल पत्रकार महासंघ, काठमाडौं शाखाले पत्रकार रामचन्द्र बस्नेतलाई ज्यान मार्ने धम्की दिनेलाई कारबाही गर्न माग गरेको छ ।

तामाकोशी सन्देश साप्ताहिकका प्रकाशक तथा शाखाका पूर्वकोषाध्यक्ष बस्नेतलाई ज्यान मार्ने धम्की दिएकोमा गम्भीर आपत्ति जनाउँदै शाखाले दोषीलाई तत्काल कानुनको दायरामा ल्याउन भनेको हो । शाखाका अनुसार बिन मिडिया प्रालिमा कार्यरत लिला थापाले उनलाई गालीगलौज, अभद्र व्यवहार र ज्यान मार्ने धम्की दिएकी हुन् । 

आफ्नो पेशागत जिम्मेवारी निर्वाहको क्रममा भएको सो अमर्यादित र आक्रामक व्यवहार प्रेस आचारसंहिता, सामाजिक शिष्टाचार र प्रचलित कानुनको ठाडो उल्लंघन भएको शाखाको ठहर छ । 

‘उक्त घटना केवल व्यक्तिगत असहिष्णुता वा रिसइबीको परिणाम मात्र नभई स्वतन्त्र पत्रकारितामाथिको प्रत्यक्ष हमला हो, जसले लोकतान्त्रिक मूल्य, प्रेस स्वतन्त्रता र अभिव्यक्तिको अधिकारको गम्भीर उल्लंघन गरेको शाखाले महसुश गरेको छ’,आज जारी विज्ञप्तिमा भनिएको छ,‘शाखालाई प्राप्त जानकारीअनुसार, पत्रकार बस्नेतले आफ्नो पेशागत जिम्मेवारी निर्वाह गरिरहेका अवस्थामा लिला थापाले सार्वजनिक रुपमै अपशब्द प्रयोग गर्दै ज्यान मार्ने धम्की दिएका थिए । यस्तो अमर्यादित र आक्रामक व्यवहार प्रेस आचारसंहिता, सामाजिक शिष्टाचार र प्रचलित कानुनको ठाडो उल्लंघन हो ।’

त्यसैगरी, शाखाले पत्रकारलाई निर्धक्क र सुरक्षित रुपमा काम गर्ने वातावरण मिलाउन सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ ।

टिप्पणीहरू