उत्तरपुस्तिका र नगदसहित फेला परेका गार्डलाई उम्क्याउन खोजिएको आशंका

उत्तरपुस्तिका र नगदसहित फेला परेका गार्डलाई उम्क्याउन खोजिएको आशंका

पूर्वाञ्चल विश्वविद्यालयको परीक्षामा गार्ड बसेका एक कर्मचारीको मोटर साइकलबाट उत्तरपुस्तिका र नगद ८० हजार रूपैयाँ फेला परेको घटनाको सत्यतथ्य छानविन हुनेमा आशंका गरिएको छ ।

प्रहरीमार्फत अनुसन्धान गराएर गिरोहको पर्दाफास गर्नुपर्नेमा परीक्षा व्यवस्थापन कार्यालयले आन्तरिकरुपमा मात्र छानबिन गर्ने निर्णय गरेपछि घटनालाई दबाउने प्रयास भइरहेको भन्दै शंका बढेको हो ।

असार ३ गते विराटनगर–२ पोखरियास्थित विश्वविद्यालयको इञ्जिनियरिङ संकायअन्तर्गतको आंगिक क्याम्पस पुसेटमा गार्ड बसेका कर्मचारी मनिष यादवको स्कुटरको डिक्कीमा ८० हजार नगद र दुईवटा खाली उत्तरपुस्तिका फेला परेको थियो । परीक्षा नियन्त्रण कार्यालयले त्यसको छानबिन गर्न पूर्व परीक्षा नियन्त्रक मोहनबहादुर बस्नेतको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ, जसले एक साताभित्र प्रतिवेदन बुझाउनु पर्नेछ । 

परीक्षा नियन्त्रक बालेन्दु हमालले समितिको प्रतिवेदनका आधारमा थप कारबाही अगाडि बढाइने बताए । तर, आन्तरिक तथा बाह्य दबाबपछि छानबिन समितिको गठन गर्न बाध्य भएको परीक्षा नियन्त्रण कार्यालय भित्रभित्र घटना सामसुम पार्ने खेलमा रहेको विश्वविद्यालय सम्वद्ध  कर्मचारी स्रोतको दाबी छ । 

छाप लागेको उत्तरपुस्तिका बाहिर गएकाले त्यसलाई बाहिर लेखाएर फेरि भित्र ल्याई साट्नेक्रम पहिलेबाटै चल्दै आएको र त्यसमा संगठित गिरोह संलग्न हुनसक्ने आशंकासहित प्रहरीले घटनाको अनुसन्धान गर्नुपर्ने माग उठिरहेको छ । तर विश्वविद्यालयका कर्मचारी वा प्राध्यापक संघले यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् । 

आफ्नै आंगिक क्याम्पसभित्र यस्ता घटना सार्वजनिक भएपछि परीक्षा कार्यालयमा हलचल बढेको छ । आंगिककै परीक्षा सुरक्षित छैन भने सम्बन्धन प्राप्त कलेजहरूको स्थिति के होला ? भन्ने प्रश्न उठिरहेको छ । विश्वविद्यालयका कर्मचारीहरू भन्छन्, 'गिरोहको मिलेमतोबिना उत्तरपुस्तिका बाहिर जान सम्भव छैन । यस्तो गम्भीर विषयलाई सामान्य रूपमा लिएर चल्दैन । सीआईबीबाट गहिरो अनुसन्धान गरिनुपर्छ ।'

परीक्षासम्बन्धी अनियमितता प्रकरणमा पहुँच भएका विद्यार्थी नेतादेखि कर्मचारीसम्मको संलग्नता हुनसक्ने अनुमान धेरैले गरेका छन् । पूर्वाञ्चल विश्वविद्यालयमा यसअघि पनि प्रश्नपत्र किनबेच र उत्तरपुस्तिका साटफेरजस्ता घटनाहरू सार्वजनिक भएका थिए । पछिल्ला केही वर्ष क्रमश: सुधारोन्मुख अवस्थामा रहेको भनिए पनि यो घटनाले फेरि आशंका र विवाद सृजना गरेको छ । 

प्रत्यक्षदर्शी कर्मचारीहरूका अनुसार यादव पाँच वर्षदेखि पुसेट क्याम्पसमा ज्यालादारीमा कार्यरत छन् । उनलाई परीक्षा कार्यालयले बारम्बार गार्डमा खटाउँदै आएको थियो । उनी प्रत्येक परीक्षाको सुरूवातमै स्कुटर लिएर बाहिर जान्थे र झन्डै डेढ घण्टापछि फर्किन्थे । ३ असारमा पनि परीक्षा सुरु भएको १२ मिनेटमै उनी बाहिर निस्कने क्रममा थिए । 

त्यसको सूचना पाएर पुगेको मोरङ प्रहरीले यादवको स्कुटरबाट दुई थान उत्तरपुस्तिका र ८० हजार नगद बरामद गरेको थियो । तर, प्रत्यक्ष प्रमाण नभेटिएको भन्दै यादवलाई त्यसै छोडियो । 

पुसेट क्याम्पसमा अहिले इञ्जिनियरिङतर्फ छैटौँ सेमेस्टरको परीक्षा १८ जेठदेखि १९ असारसम्म सञ्चालन भइरहेको छ। विराटनगरको इस्टर्न इञ्जिनियरिङ कलेजमा अध्ययनरत करिब दुई सय विद्यार्थीहरू उक्त परीक्षा केन्द्रमा सहभागी छन ।

टिप्पणीहरू