घरका मान्छे बाहिर, बाहिरका भित्र

घरका मान्छे बाहिर, बाहिरका भित्र तस्बिर एआईको सहयोगमा

घरका मान्छे बाहिर जाने र बाहिरका भित्रिएर हालीमूहाली चलाउन थालेपछि के हालत होला ? ठिक यस्तै हाल हाम्रो मुलुकको भएको छ । पुरुष छैनन् भने त्यो घरका महिला, केटाकेटीमा पराइ मान्छे हाबी हुन्छन् र बिस्तारै दबदबा बढाउँदै लगेर घरजग्गा र श्रीसम्पत्ति नै बाहिरियाले कब्जा गर्न बेर लाग्दैन ।

नेपालको मध्यभागमा अवस्थित चितवनको नारायणगढ, भरतपुरमा आधाजसो घर सीमापारिका मान्छेको भइसकेको छ । नारायणगढ, क्षेत्रपुरमा छेउ–छेउका दुईवटा घर उनीहरुको रहेको ठाउँमा बीचमा एउटा घर जनजातीको रहेको र त्यो पनि सस्तोमा हडप्न खोजिएको ताजा घटना सुन्नमा आएको छ ।

अधिकांश घरका पुरुष वैदेशिक रोजगारीमा बाहिर छन् । महिला र केटाकेटीलाई फस्ल्याङफुस्लुङ पारेर सीमापारीबाट आएका सँधियारले झण्डै दुई करोड हाराहारी पर्ने उक्त घरजग्गा एक करोड ३० लाखमा हात पार्न खोजेको सुनिन्छ । घर किन्न आउने मान्छेलाई वरपरकाले अनेक गरेर भड्काउँदै भारतीयमूलका मानिसलाई सस्तोमा दिलाउन चलखेल भइरहेको गैंडाकोटको पुलचोकमा खाजाघर चलाउने एक व्यापारीले अनौपचारिक कुराकानीमा खुलाए ।

पंक्तिकार आफैं केही दिनअघि नारायणगढ र भरतपुरतिर कोठा खोज्दै जाँदा बेलचोक होस् या आनन्दमार्ग, क्षेत्रपुर होस् या पुतलीबजार, लीलाचोक, न्युरोड जताततै सीमापारीकै मानिसहरु बढी देखिन्थे । कोठा खोज्नेक्रममा भेटेका ५–७ वटा घरका मालिक हिन्दीभाषी नै थिए । पहिले म नारायणगढस्थित आनन्दमार्गमा बहालमा बस्दा दुईवटा घरमा प्रायः सबै कोठा र सटरहरु उनीहरुले नै भाडामा लिएर व्यवसायसमेत गर्दै आएको अवस्था थियो र अहिले पनि छ । वरपरका सबै सबै घरमा भारतीयमूलका मानिसहरु नै भरिभराउ छन्, अगाडि ठूलो मस्जिद पनि छ ।  

त्यसपछि कोठा सर्ने क्रममा भरतपुरको अस्पताल रोडमा एउटा कोठा भेटें । त्यो घर भारतीयमूलकै मानिसको हो । त्यहाँ पनि वरपरका घरहरुमा अधिकांश उतैका मानिसहरु देखिए । म त्यो घरमा करिब तीन महिनाजति बसेर हिंडे । यादव थरका ती मानिसको क्यान्सर अस्पतालतिर पनि अर्काे घर छ । उनी त्यतै बस्छन् ।
 
करिब तीन करोड नेपालीमा एक करोड बढी देश बाहिर छन् । नेपालमा बस्ने भनेको बूढाखाडा र केटाकेटीमात्रै हो । पछिल्लो समय महिलाहरु पनि लालाबाला छोडेर वैदेशिक रोजगारीमा जानेक्रम बढ्दो छ । देशबाट युवाशक्ति बाहिरिएको स्थितिमा सीमावर्ती भारतको बिहार, पटनाबाट आउनेहरूको बोलबाल देखिन्छ । भरतपुरजस्तो शहरमा पनि उतैका मानिसहरुको चहलपहल बढी छ । व्यापार व्यवसाय र श्रम सबै लगभग उनीहरुकै कब्जामा छ । अधिकांश पसल तिनकै छ । सडक व्यापारदेखि ठूल्ठूला उद्योग व्यवसाय उनीहरुले नै चलाइरहेका छन् ।

पाउरोटी फ्याक्ट्री, मिठाइ पसल, आइसक्रिम, चनाचटपट अधिकांश उनीहरुकै छ । वर्कशप, ग्यारेज, अन्नपातका गोदाम वा किराना पसल, तरकारी, फलफूल, फेन्सी र कपडाका धेरैजसो पसल पनि उनीहरुकै । मोबाइल, घडी, टिभी लगायतका इलेक्ट्रोनिक्स सामानको दोकान  उनीहरुकै । सडकपेटीमा जुत्ता सिउने उनै छन् । प्लाष्टिकका खेलौना लिएर, बेलुन फुकेर बेच्दै हिँड्ने पनि उनै । टेलर्स र गार्मेन्ट चलाउने, सैलुन खोल्ने उनै छन् ।

भाँडाकुँडा, तन्ना–लत्ताकपडादेखि लिएर साईकल–साईकलमा पाउरोटी, बिस्कुट गाउँ–गाउँसम्म लगेर जमानादेखि उनैले बेच्दै आएका छन् । ठेला र साईकलमा पनि आइसक्रिम, चटपट, तरकारी, फलफूल, जुस बेच्दै हिँड्ने उनै हुन् । अहिले त कुर्सी, त्रिपालसमेत साईकलमै चाङ लगाएर उनीहरुले व्यापार गर्दै हिँडिरहेको देखिन्छ । लसुल, प्याज, आलु पनि साईकलमा बोकेर गाउँगाउँमा लगी अवैध रुपमा व्यापार गरिँदै आएको छ ।  हामी त उनीहरुसँग किन्ने र खाने मात्रै भयौं।

घर–घरमा प्रेसरकुकर, ग्यासचुलो बनाउन पनि साईकल लिएर उनै डुलीहिँड्छन् । थालमा नरिवल लिएर बेच्दै हिँड्ने उनै छन् । गाडीहरुमा पानी र प्लाष्टिकको पोकामा फलफूल, मिठाइ बेच्ने पनि धेरैजसो भारतीयमूलकै छन् । पानपसल चलाउने, सिरक डस्ना बनाउने, काठको काम गर्ने, फर्निचर, घर बनाउनेहरु झन् उतैका हुने नै भए । कवाडी बटुल्नेदेखि फोहोर सोहोरेर मोहर उनैले कमाइरहेछन् ।

नेपालीचाहिँ केही नजानेजस्तो भए । सबैथोक बाहिरियासँग किनेर खाने, उपभोग गर्ने भएपछि कहिले उँभो लाग्ने ? खासमा त बाहिरबाट आउनेलाई आफ्ना उत्पादन र सामानहरु बेचेर हामीले हो नि आम्दानी गर्ने भनेको । तर बाहिरियासँग किनेर उपभोग गर्नुपर्ने उल्टो स्थिति हाम्रो छ । आफ्नै देशमा यो भन्दा ठूलो दुर्दशा के होला ? उनीहरुका पसलमा नेपालीलाई कामदारको रुपमा राखेर हैकम चलाइएको छ ।

केही दिनअघि गैंडाकोट करमघारीमा एउटा भारतीयमूलकै मानिस टोकरीमा कुखुराका चल्ला राखेर ’गिरिराज चल्ला आयो, गिरिराज चल्ला आयो’ भन्दै व्यापार गर्दै हिँडिरहेका थिए । जबकि कुखुराको चल्ला बाहिरबाट ल्याएर बेच्न प्रतिबन्ध छ । त्यसको केही बेरअघि अर्का भारतीय साईकलमा कपडा राखेर व्यापार गर्दै हिँडेको देखिएको थियो । जङ्गलछेउको भित्री एरियामा पर्ने करमघारीमा मात्रै कवाडी बटुल्नेदेखि साईकलमा यस्तो अवैध व्यापार गर्नेहरू दैनिक ५० भन्दा बढीको संख्यामा आउने गरेका छन् ।
 
कति सजिलो !  दर्ता गर्नु नि परेन, राजस्व तिर्नु नि परेन । न त सटर–पसलको भाडा तिर्नुपर्यो ! गोदाममा सामान ल्याएर राख्यो अनि ठेला र साईकल–साईकलमा बेच्दै हिँड्यो । कुनै पनि वस्तु वा सेवाको खरिद–बिक्रीमा बिल लिनु–दिनु अनिवार्य हुन्छ । तर पसल–पसलमा त बिलबिजक खासै जारी गरिन्न भने साईकल र ठेला व्यापारमा झन् त्यसको सवालै छैन । मूल्यसूची नहुँदा व्यापक मात्रामा राजस्व छली र उपभोक्ता ठगी हुँदै आएको छ ।
 
जोगी र माग्नेहरु पनि उतैका बढी छन् । अंगभंग भएका, डढेर जलेकाहरु समेत बाटोमा माग्न यतै ओइरिएका छन् । हात हेराउने भनेर सीमापारिकै महिला–पुरुष ठग्दै हिँड्छन् । हिन्दू भगवानको फोटो टोकरीमा राखेर बाटोमा भेटिएका जो कोहीलाई टीका लगाइदिँदै पैसा असुल्दै हिँड्नेसमेत उनै छन् । नेपालका मन्दिर–मन्दिरमा जोगी र पुजारीको भेषमा र मस्जिदहरुमा उतैका मानिसहरुको जगजगी छ । पशुपतिनाथमा समेत भारतीय नै मूल पुजारी छन् । हिन्दू धर्मको आडमा नेपाललाई पूरै हिन्दूस्तान बनाउने प्रयत्न भरमग्दुर भइरहेछ । स्वास्थ्य, शिक्षा सबै उनीहरुकै पकडमा छ । यो देश मारवाडीले चलाइरहेको भनी त्यसै भनिएकै होइन । मिडियामा समेत उनीहरुको लगानी छ ।

कृषिप्रधान देश नेपालमा सबैजसो अन्न, तरकारी फलफूल भारतबाट नै आयात हुँदै आएको छ । हरेकजसो उपभोग्य वस्तुहरु प्रायः उतैबाट वैध–अवैध रुपमा भित्रिँदै आएका छन् । यहाँका खेतबारीमा काम गर्नेहरु पनि प्रायः सबै उतैबाट आइरहेका छन् । नदी किनारमा धोबीको काम गर्नेदेखि नारायणगढको नारायणी नदीमा सुन चाल्नेहरु पनि भारतीय नै भेटिन्छन् ।

हामीसँग कुनै सीप नै भएन वा भएको सीपलाई पनि उपयोग गर्न जानेनौं र अर्काको देशमा पोखिराछौं ? त्यसो त हाम्रो शिक्षा पनि सीपमूलक हुन सकेन । काम गर्न विदेश पठाउने बुर्जुवा शिक्षाले देश अधोगतितर्फ उन्मुख छ ।
 
आफ्नो युवाशक्तिलाई स्वदेशमै इलम सिकाएर यहीँ राख्न किन नसकेको  ? कुकर–ग्यास बनाउने, मोटरसाईकल, गाडी मर्मत गर्ने, फर्निचर बनाउने, आइसक्रिम, पाउरोटी, खेलौना बनाउनेदेखि लिएर कवाडी बटुल्नेसम्मको काम गरेर छिमेकी देशका नागरिकले कमाइरहेका छन् । ती सबै तालिम दिएर नेपालीलाई नै नेपालमा व्यवसाय गर्न सघाउन नसकिने हो ? साईकल र ठेलामा अरुले आएर निष्फिक्री व्यापार गर्न हुन्छ भने अब नेपालीलाई नै त्यसमा प्रोत्साहित गर्नुपर्ने हैन र ?

विदेशबाट यति रेमिट्यान्स भित्रियो, उति भित्रियो भनेर मख्ख परेर हुन्छ ? विदेशबाट मरीमरी कमाएर पठाएको पैसाले यहाँ हरेक चीज बाहिरियासँग किनेर सक्नेमात्र काम भइरहेको छ । पढ्न वा घुम्न भनेर विदेश गएकाहरु पनि उतै सेट भएर बसेका छन् । देशको माया कसैलाई भएन । देश भनेको चारकिल्लाको माटो हो भन्दै मान्छेहरु विदेशतिर भासिएका छन् । तर, देशभन्दा ठूलो केही होइन । आफ्नो घरमा जुन सुख, सुरक्षा, आत्मीयता र सहयोग हुन्छ, बाहिर हुनै सक्दैन । अनि देशमा बाहिरका मान्छेको रगरगी बढेपछि हामी दासदासी झैं हेपिने र चेपिने नै हो ।

यिनीहरुमा रुपरंग उस्तै भएका नेपालकै मधेसी नागरिक पनि छन्, भारतबाट आएर मधेसमा घरजग्गा जोडेर नागरिकता समेत लिइसकेका कैयौं छन् । एक महिनाअघि कुनै कामविशेषले जनकपुर पुग्दा जिल्ला प्रशासन कार्यालयको सिडिओ कक्षअघि एकजना भारतीयमूलकै मानिस जन्मदर्ता र स्कूलको सर्टिफिकेटमा जन्ममिति फिटिक्कै नमिलेको कागजात ल्याएर नागरिकता बनाउन बल गरिरहेका थिए । नेपालमा राजतन्त्र हुँदै मधेसतिर नेपाली नागरिकताको व्यापक किचबेच भइसकेको हो ।

धनुषामा पहाडीमूलका मानिस देख्दा ‘ए नेपाली लोग आया’ भन्दै त्यहाँका मानिसहरुले दोस्रो दर्जाका नागरिक वा अर्कै देशका मानिसलाई जस्तो व्यवहार गरेको देखियो, भोगियो । मलाई पनि साँच्चै अर्कै देशमा पुगिएछु झैं लाग्यो । रामजानकी मन्दिर वरपरका पर्खालहरुमा लेखिएका आध्यात्मिक स्लोगन हिन्दी भाषामै छ । फोहोर पनि उत्तिकै देखियो ।

जनकपुर कुरीकुरी टनकपुर खाइसके भन्ने गीत त सुनिएकै हो । तर जनकपुर नै खाइसकेछन् । जनकपुर, सर्लाही, रौतहट वीरगंज अनि पथलैयातिरको मात्रै के कुरा सिमरा, हेटौंडा, चितवन, नवलपरासी, बुटवल, भैरहवा काठमाडौं जताततै अहिले उनीहरुकै प्रभुत्व छ । बोर्डर नबारेसम्म यो देश सीमापारिकाबाट कदापि सुरक्षित हुने स्थिति पनि छैन । यताबाट अहिले पनि नेपाली चेलीहरुलाई विभिन्न बहानामा भारतका आर्केस्ट्रा डान्स र कोठीहरुमा लगेर बेच्ने गरिँदै आएको अवस्था छ ।

भारतसँग जोडिएका सीमावर्ती जिल्लाहरुमा विगतदेखि नै अतिक्रमण भइरहेकै छन् । सीमा पिल्लरहरु रातारात गायब पारिएको र नेपालतिर सारिँदै ल्याइएको स्थिति छ । तटबन्धनको नाममा नदीको धार परिवर्तन गरिँदा पनि नेपालीको घरखेत उनैको कब्जामा पुगेका छन् र नेपाली भूभाग सधैँ नै डुबानमा पर्ने गरेको छ ।

नेपालमा बीसौं वर्षदेखि बस्दै आएका भारतीयहरु नेपालीसँग बोल्दा प्रायः हिन्दीभाषामै बोल्छन् । नेपालीचाहिँ जानीनजानी अधिकांशरुपमा हिन्दी बोल्नमै पछ्याइरहेका देखिन्छन् र उनीहरुसँग हिन्दी नै बोल्नुपर्छ भन्ने बुझाइ छ । यसले हाम्रो आफ्नोपन हराइरहेको महसुस कमैले गरेका होलान् । पसलहरुमा अनि ठेला र साईकलमा स्पिकर राखेर हिन्दी गीत घन्काउँदै व्यापार गरी हिँड्छन् उनीहरु । नेपालीहरु पनि हिन्दी गीतसंगीत नै ज्यादा सुन्ने, भारतीय चलचित्र बढी हेर्ने मात्र होइन, नेपालीको बिहेमा समेत अधिकांश हिन्दी गीत नै घन्काउने चलन हुने नै भयो ।

कालापानी, नालापानी, लिपुलेक सबै लगिसके । चितवनमा पनि अब फोरमले जित्ने स्थिति देखिएको गैंडाकोटका ती होटल व्यवसायी बताउँछन् । यो अवस्थाले मधेसमा मात्र होइन चितवन र नवलपरासीतिर पनि जनमतसंग्रह भए भारतीयले नै जित्ने खतरा छ । तर हाम्रा नेताहरुलाई मतलबै छैन । सत्ताको छिनाझपटीमा आफू–आफूमै लड्दैमा फुर्सद छैन । भारतको विरुद्ध बोले सत्ता गुम्ने डर छ । देशमा र आफ्ना पालिकाहरुमा कति स्वदेशी छन्, कति विदेशी वा बाहिरबाट आएर बसिरहेछन् ? बाहिरियाहरु कतिले व्यापार गरिरहेछन् ? वैध–अवैध रुपमा कसरी गरिहेछन् ? उनीहरुको संख्या र कामधन्दाबारे सम्पूर्ण जानकारी र रेकर्डहरु राखिनुपर्ने होइन ? तर साँच्चै देश सकिएको कसैले देखेकै छैन । प्रहरी–प्रशासन र नियामक निकाय सबै मुकदर्शक देखिन्छन् ।

 

टिप्पणीहरू