उत्तरी छिमेकी मित्रराष्ट्रका दुई मुख्य प्रान्त - छिङहाइ र भित्री मङ्गोलिया - चिनियाँ कम्युनिष्ट पार्टीले हालै पारित गरेको हरित रूपान्तरणको नीति र योजनाअनुसार तीव्र गतिमा ‘समृद्धि र स्थायित्व’ जोडिएको नयाँ विकास मोडलतर्फ उन्मुख भएका छन्।
गत अक्टोबरको तेस्रो साता राजधानी बेइजिङमा बसेको २०औँ केन्द्रीय समितिको चौथो पूर्णबैठकले ‘स्वच्छ पानी र हरियो पहाड नै अमूल्य सम्पत्ति’ भन्ने मूल दर्शनलाई १५औँ पञ्चवर्षीय योजनाको कार्यढाँचामा रूपान्तरण गर्ने निर्देशन दिएको थियो । त्यसपछि ती प्रदेशमा वातावरणीय सुरक्षादेखि हरित अर्थतन्त्रसम्मका कार्यक्रम सक्रिय रूपमा अघि बढाइएको छ ।
छिङहाइले याङ्त्से, पहेंलो र लानचाङ नदीको उद्गमस्थल तथा मुहान सुरक्षित राख्न ‘डिजिटल–स्मार्ट निगरानी’ को मोडल अघि सारेको छ। चीनको यो वर्षको डिसेम्बर ३१ सम्म लागु हुने १४औँ योजनामा मात्रै १७ लाख हेक्टर जमिनमा हरियाली विस्तार गरेको उक्त प्रदेशले वन–घाँसे मैदान ढाकिएको दरलाई ६० प्रतिशत नाघेको दाबी गरेको छ । आगामी १५ औं पञ्चवर्षीय योजनामा ‘हरित रूपान्तरणलाई अझ दरिलो र संस्थागत’ बनाइने प्रतिबद्धता जनाइएको छ ।
उता भित्री मङ्गोलियाले भने उत्तरी चीनको ‘पर्यावरणीय पर्खाल’ लाई मजबुत बनाउँदै हरियालीलाई स्थानीय आयसँग जोडिएको ‘हरित अर्थतन्त्र’ मा बदलेको छ। समुद–बकथर्न जस्ता परियोजनाहरूले वातावरण संरक्षणसँगै किसानको आम्दानी बढाएकोमा कुनै शंका छैन ।
प्रान्तले १८.५ लाख हेक्टर क्षेत्रमा वृक्षारोपण, ६६.७ लाख हेक्टर घाँसे मैदानको सुधार र ४४.५ लाख हेक्टर मरूभूमिको अवस्थालाई प्राकृतिक रुपमा नियन्त्रण गर्दै वनजंगलले ढाकिएको क्षेत्रको दरलाई २१.९८ प्रतिशतसम्म पुर्याएको छ। चिनियाँ वातावरणविद्हरू भन्छन्छि - ङहाइ र भित्री मङ्गोलियाको उदाहरणले चिनियाँ कम्युनिष्ट पार्टी नयाँ विकास र रोडम्याप दुवै पक्षलाई एकसाथ अगाडि बढाउँदै आर्थिक समृद्धि र हरियाली विस्तारमा लागेको स्वतः पुष्टि हुन्छ ।
१५औँ योजनाको पूर्वाद्र्धमा चीनको उत्तरी क्षेत्र पहिलेको उजाडबाट अहिले ‘हरित अर्थतन्त्र’, जल–सुरक्षा र वातावरणीय दीगोपनाको दीर्घकालीन मोडलका रूपमा उभिँदै गएको देखिन्छ । चीनले पछिल्लो चार दशकमा भएको चमत्कारिक आर्थिक तथा सामाजिक विकाससँगै आगामी दिनमा पर्यावरणीय संरक्षणको आडमा मुुलुक र नागरिकको समृद्धिलाई दीगोपनातर्फ अग्रसर गराउने रोडम्याप तय गरेको हो ।
स्रोत : सिसिटिभी प्लस ।