सबै श्रेणीहरू

बंगलादेशी अधिकारीहरुलाई चिनियाँ भाषा तालिम

बंगलादेशी अधिकारीहरुलाई चिनियाँ भाषा तालिम

बंगलादेश सरकारले आफ्ना सरकारी अधिकारीहरूका लागि १५ हप्ते चिनियाँ भाषा तालिम शुरु गरेको छ । राजधानी ढाकामा अस्ति सोमबारदेखि आयोजित तालिमको उद्देश्य चिनियाँ लगानीकर्ता र अधिकारीहरुसँग प्रभावकारी सञ्चार क्षमता अभिवृद्धि गर्नु रहेको बताइन्छ ।

तालिम बंगलादेश लगानी विकास प्राधिकरण र देशकै अग्रणी निजी विश्वविद्यालय नर्थ साउथ युनिभर्सिटीअन्तर्गत कन्फ्युसियस इन्स्टिच्युटको संयुक्त पहलमा सञ्चालन गरिएको हो । तालिममा लगानी विकास प्राधिकरण,बंगलादेश आर्थिक क्षेत्र प्राधिकरण तथा बंगलादेश निर्यात प्रशोधन क्षेत्र प्राधिकरणका कूल ३८ जना सरकारी अधिकारी सहभागी छन्।

तालिम उद्घाटन समारोहमा बंगलादेश–चीन सहकार्यका उपलब्धि र प्रगतिबारे बनाइएको वृत्तचित्र प्रदर्शन गरिएको थियो । समारोहलाई सम्बोधन गर्दै बंगलादेशस्थित चिनियाँ दूतावासका सांस्कृतिक सल्लाहकार लि साओपेङले दुई मुलुकबीचको सम्बन्ध लामो समयदेखि मैत्रीपूर्ण,सुदृढ र बहुआयामिक रहँदै आएको उल्लेख गरे । उनले भाषा शिक्षाले दुई देशबीचको सम्बन्ध अझ गहिरो बनाउँदै भविष्यका नयाँ सहकार्यका सम्भावना खोल्ने विश्वास पनि व्यक्त गरे ।

तालिममा सहभागी बंगलादेशी अधिकारीहरुले चिनियाँ भाषामा आधारभूत दक्षता हासिल गरेपछि मुलुकमा चिनियाँ लगानी प्रवर्धन र लगानीकर्ताहरुसँगको संवाद थप प्रभावकारी हुने बताएका छन् । 

स्रोत : सिन्ह्वा ।