मदनको ब्यानरमुन्तिर मदनकै उछित्तो किन काढ्नुपरेको होला ?

मदनको ब्यानरमुन्तिर मदनकै उछित्तो किन काढ्नुपरेको होला ?

राजनीति निर्मम हुने भएकाले भावनात्मक पक्ष गौण मानिन्छ । तर,कहिलेकाँही नसोचेको ढंगको निर्मम बनिदिन्छ,जहाँ रगत,पसिना,आँशु र योगदान अर्थहीनमात्र बनाइँदैन,अवमूल्यन पनि गरिन्छ । जननेता मदन भण्डारी लक्षित एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो टिप्पणी त्यस्तै एउटा उदाहरण हो । 

हिजो असार १४ गते,जनताको बहुदलीय जनवाद (जबज)का प्रणेता स्वर्गीय मदन भण्डारीको ७४औँ जन्मजयन्ती । सो अवसरमा 'मदन भण्डारी फाउन्डेसन' ले काठमाडौँको राष्ट्रिय सभा गृहमा विशेष कार्यक्रम आयोजना गरेको थियो । पूर्व राष्ट्रपति तथा मदनपत्नी विद्या भण्डारी विशिष्ट अतिथि रहेको कार्यक्रममा प्रमुख अतिथि हुनुहुन्थ्यो,ओली । सभागृहमा एमाले बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलदेखि कुनै समय जबजलाई हरियो घाँसभित्र लुकेको साँपको संज्ञा दिने पूर्व माओवादी नेता रामबहादुर थापा बादलसम्म उपस्थित थिए ।

नेपालको कम्युनिष्ट आन्दोलनमा मदनको योगदानको स्मरण गर्न आयोजना गरिएको कार्यक्रममा त्यसो भएन । अध्यक्ष ओलीकै प्रस्तुती त्यसको ठीक उल्टो देखियो । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले मदनको राजनीतिक र व्यक्तिगत दुवै प्रसंग निकालेर अस्वाभाविक टिप्पणी गर्नुभयो । चार वटा श्रीमती भएको,सहकारी ठगेको र फुत्त राजनीतिमा आएको जस्ता आरोप लगाइएको भन्दै उहाँले मदनको समर्थन गरेजस्तो गर्दै 'खुइल्याउने' काम गर्नुभयो । 

उतिबेला पत्रकार किशोर नेपालले कृष्णप्रसाद भट्टराई किसुनजीलाई चुनाव जिताउन सुरुची साप्ताहिक र देशान्तरमा लेखेका थिए । त्यसयता चर्चाको विषय हुन छोडिसकेको सन्दर्भ ओलीले बिनाप्रसङ्ग,बिनाबहस किन एकाएक झिक्नुभयो होला ? मदनमाथि झूठो आरोप लगाइयो भन्दै झन आरोपको सार्वजनिकरण गर्नुको रहस्य के होला ?

 'चार वटी कि कतिवटा श्रीमती छन् भनेर आरोप लगाइयो । त्यसको प्रमाण कसले खोज्न जाने अब ?' ओलीले भन्नुभयो । उहाँ त्यतिमा मात्र अडिनुभएन मदनलाई सहकारी ठगको आरोप लागेको कुरा पनि उठाउनुभयो । 

बिना प्रसंग व्यक्तिगत कुरा निकाल्नुभएका ओलीले मदनको राजनीतिक छविलाई पनि कमजोर बनाउने गरी असान्दर्भिक विषय उठाउनुभएको थियो । नेपालको कम्युनिष्ट आन्दोलनमा मदन भण्डारीको योगदानलाई लिएर अहिलेसम्म आम रुपमा प्रश्न उठेको छैन । फरक बिचार राख्ने नेपाली कांग्रेसदेखि अलग धारको माओवादी केन्द्रले समेत मदनलाई मानेको देखिन्छ । तर,ओलीले भन्नुभयो, 'मदन भण्डारीलाई फुत्त दुलाबाट निस्किएर नेता हुन पाइन्छ भनेका थिए । उहाँ फुत्त निस्किएर नेता हुनुभएको थिएन,भूमिगत रूपमा काम गरेको धेरै वर्ष भएको थियो । संगठनात्मक काम गरेको धेरै वर्ष भएको थियो ।'

विश्वभर वामपन्थी आन्दोलन रक्षात्मक अवस्थामा पुगेका बेला नेपालको कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिकरणको बाटोमा लगेर जोगाउने कामको नेतृत्व मदन भण्डारीको अगुवाइमा भएको थियो । जनताको बहुदलीय जनवाद (जबज)को कार्यनीतिमार्फत कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणमा उहाँले खेलेको भूमिका इतिहासमा स्थपित छ । एमालेले आज बनाएको राजनीतिक हैसियतको जग पनि जबज नै हो । 

त्यसमा पनि एमाले अध्यक्ष ओली कुनै समय आफूलाई जबजको उत्तराधिकारी दावी गर्नुहुन्थ्यो । मदनकै नामबाट बनेको मदन भण्डारी फाउन्डेसनमार्फत देशभर गुट विस्तार गरेर पार्टी नेतृत्वमा स्थापित हुनुभएको हो । यसकारण ओलीले हासिल गरेको राजनीतिक प्रगतिमा जबज र मदन भण्डारीको योगदान अझ बढी छ । 

त्यसकारण मदनमाथि त्यस्ता आरोप लागेकै भए पनि हिजो त्यसको चर्चा गर्ने उपयुक्त दिन र थलो थिएन । अहिलेको पुस्ताले सुनेको,बुझेको कुरा पनि होइन यो । कमसेकम ५० को दशकपछिको पुस्ताले हिजो अध्यक्ष ओलीले नभनेको भए सायदै सुनेको थियो होला  ! उतिबेला पत्रकार किशोर नेपालले काङ्ग्रेस सभापति कृष्णप्रसाद भट्टराई किसुनजीलाई चुनाव जिताउन  सुरुची साप्ताहिक र देशान्तरमा लेखेका थिए । त्यसयता चर्चाको विषय हुन छोडिसकेको सन्दर्भ ओलीले बिनाप्रसङ्ग,बिनाबहस किन एकाएक झिक्नुभयो होला ? मदनमाथि झूठो आरोप लगाइयो भन्दै झन आरोपको सार्वजनिकरण गर्नुको रहस्य के होला ? विद्या भण्डारी निकट एक नेताका अनुसार एमालेमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमको एउटा पाटो हो ओलीको हिजोको उक्त अभिव्यक्ति । 

मदन भण्डारीको बारेमा नकारात्मक सन्देश फैलाएर पार्टी राजनीतिमा फर्किने प्रयासमा रहेकी विद्या भण्डारीलाई कमजोर बनाउने रणनीतिअन्तरर्गत जानीबुझी नै त्यस्तो अभिव्यक्ति दिएको ती नेताको दावी छ । 'मदन भण्डारीको जन्मजयन्तीको दिन उहाँको योगदान र बिचारको क्षेत्रमा गरेका राम्रा कामको चर्चा हुनुपर्ने हो । तर, मदनकी श्रीमतीको छेउमा उभिएर उहाँले त चार वटा गर्लफ्रेन्ड र सहकारी ठगीको कुरा सार्वजनिक बहसमा ल्याइदिनुभयो । यो सामान्य कुरा होइन', उनले भने ।  

सम्बोधनका क्रममा अध्यक्ष ओलीले मदनलाई आफूहरुले नै महासचिव बनाएको दावी पनि गर्नुभएको थियो । त्यस्तै,जबजको श्रेय पनि मदन एक्लैलाई नजाने तर्क गर्नुभयो । मदन भण्डारीले एमाले (तत्कालीन माले) महासचिवको हैसियतमा पाँचौं महाधिवेशनमै जबज प्रस्तुत गर्नुभएको थियो । तर,ओलीले भने त्यसअघि चौथो महाधिवेशनमै जबज आइसकेको जिकिर गर्नुभयो । यसमा पनि मदनको योगदानलाई न्यूनीकरण गर्ने मनसाय अन्तर्निहित रहेको एमाले नेता बताउँछन् । 

ओलीको अभिव्यक्तिमा विद्याको राजनीतिक पुनरागमनप्रति त्रसित रहेको झल्को पनि देखिन्थ्यो । विद्याले एमालेमा फर्किएको औपचारिक घोषणा गर्ने भनिएकाले केही दिनदेखि कार्यक्रम चर्चामा थियो । पूर्व राष्ट्रपतिको आगमनलाई आफ्नो नेतृत्वमाथि चुनौती ठानेका अध्यक्ष ओली कार्यक्रममा जाने-नजाने निश्चित थिएन, र विभिन्न तर्क-बितर्क भैरहेका थिए । तर,उहाँ कार्यक्रममा उपस्थित हुनुभयो । समय अभावलाई कारण देखाएर शुरुमै बोल्नुभएका उहाँले विद्या र बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले के बोल्छन् भन्ने आफूलाई पहिले नै थाहा भएको भन्दै दह्रो कटाक्ष गर्नुभयो ।

'सम्माननीय पूर्व राष्ट्रपतिज्यूले मेरा पनि कुरा सुन्नुहोस् न भन्नुहुन्थ्यो । तपाईं राम्रै बोल्नुहुन्छ भन्ने मलाई थाहा छँदैछ । आज मात्रै सुन्नुपर्ने होइन, उहिल्यैदेखि सुन्दै आएको हो',ओलीले भन्नुभयो । बरिष्ठ उपाध्यक्ष ईश्वरले पनि के बोल्छन् भन्ने आफूलाई थाहा भएको  सुनाउनुभयो । ७० वर्षे उमेर हदको पक्षमा बोलेपछि बालुवाटारको ढोका बन्द गरिएको भनिएका ईश्वर पछिल्लो समय विद्याको पक्षमा खुलेर लाग्नुभएको छ । हिजो पनि नेतृत्वमा कसैलाई रोक्न पाइँदैन भन्दै उहाँले कडा भाषण गर्नुभएको थियो ।

'ईश्वर कमरेड १०-१२ वर्षपछि पहिलोचोटि कडा बोल्नुभयो र कार्यकर्ताको तालि खानुभयो',विद्यानिकट अर्का नेता भन्छन् । ७० वर्षे उमेर हदको पक्षमा बोलेवापत ओलीले अघिल्लो हप्ता बालुवाटारमा बोलाएर भात खुवाएको र त्यसपछि ईश्वरलाई भेट्नसमेत अस्वीकार गरेको ताजा घटना सुनाउँदै थप भने, 'अध्यक्षसँग भेट्ने कुरा हुँदा ७० वर्षपछि एमालेमा नेता हुन मिल्दैन भन्दै हिँडेका छन्,उनी आफैँ ७२ भैसके,पार्टीको मान्छे हैनन् । अब किन भेट्नुपर्यो भनिएछ ।'

हिजोको कार्यक्रमलाई विद्या निकटहरुले उपस्थितिको हिसाबले पनि उत्साहजनक भनेका छन् । महासचिव शंकर पोखरेलहरुले कार्यक्रम जुधाएर उपस्थिति कमजोर बनाउन गरेको प्रयासका बाबजुद सभा गृहको हल भरिभराउ हुनुले पनि उनीहरुमा उत्साह बढेको देखिन्थ्यो । तर, ओलीले भने त्यसमा पनि कटाक्ष गर्न छोड्नुभएन । विद्यालाई उचालेर मिडियाले एमालेमा विभाजन ल्याउन खोजेको दाबी गर्दै भन्नुभयो- 'यो कार्यक्रममा नजान उर्दी जारी गरेको छ रे भन्ने पनि सुनियो,कता कता पढियो । हामीले किन त्यसो भन्नु,हल भरिन कति नै मान्छे चाहिने हो र ! हजार, १५ सय मान्छेले भरिहाल्छ ।'

प्रस्तुतिको हिसाबले ओली धेरै आक्रामक नदेखिए पनि उहाँको अभिव्यक्तिको सार भने अब भिड्ने मनस्थितिमै रहेको बुझियो',भण्डारी निकट ती नेताले निष्कर्ष सुनाए, 'बिचारमा कोही प्रष्ट छैन, कुनामा बसेर ङ्ग्याङ्ग्याङ्ग गफ हान्ने मात्र हुन् भनेर विद्या भण्डारीलाई डाइलग पेल्नुभयो । जे होस् उहाँ हिजो रक्षात्मक देखिनुभएको थियो ।'
 

टिप्पणीहरू