असार १५ कटेसँगै शिक्षकहरु आक्रोशित

असार १५ कटेसँगै शिक्षकहरु आक्रोशित

नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक अविलम्ब संसद्मा पेश नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

असार १५ गतेभित्र विधेयक पारित गर्ने सहमति भएकोमा उक्त समयसीमा कटेपछि महासंघ आक्रोशित भएको हो ।

विगतमा भएका सहमति सम्बोधन हुनेगरी विधेयक ल्याउनुपर्ने मागसहित गत चैत तेस्रो सातादेखि २९ दिनसम्म महासंघको नेतृत्वमा देशभरका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरु काठमाडौं आई सडक आन्दोलन गरेका थिए । आन्दोलनको क्रममा गत वैशाख १७ गते सरकार र महासंघबीच विद्यालय शिक्षा विधेयक असार १५ भित्रै सदनबाट पारित गर्ने सम्झौता भएको थियो ।

महासंघले आज विज्ञप्ति जारी गर्दै सहमतिबमोजिम अविलम्ब प्रतिनिधि सभामा विधेयक पेश गरी पारित गर्न सरकार र संसद्को ध्यानाकर्षण गराएको छ ।

‘संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विधेयकमाथि चलिरहेको छलफल शीघ्रतीशीघ्र सम्पन्न गरी विगतका सहमतिहरु समावेश भएको अग्रगामी विद्यालय शिक्षा विधेयक अविलम्ब प्रतिनिधि सभामा पेश गरी पारित गराउन हामी सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउँछौं,’ महासंघले भनेको छ ।

यो कार्यमा विलम्ब गर्ने सुविधा कसैलाई नभएको जनाउँदै महासंघले कुनै पनि खालको विलम्ब र षड्यन्त्र भएमा तुरुन्तै आन्दोलनमा उत्रिने बताएको छ । साथै, आन्दोलनबाट सिर्जना हुनसक्ने परिणामप्रति सचेत तथा गम्भीर रहनसमेत विज्ञप्तिमा जनाइएको छ ।
 

टिप्पणीहरू