ओलीलाई किन काँध थापेको भन्दै काँग्रेस बैठकमा आक्रोश

ओलीलाई किन काँध थापेको भन्दै काँग्रेस बैठकमा आक्रोश

नेपाली कांग्रेसको इतर खेमाका नेता डा. शेखर कोइरालाले एमालेलाई सरकारको नेतृत्व दिएकोप्रति सभापति शेरबहादुर देउवासँग असन्तुष्टि जनाएका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउनुको कारण प्रष्ट पार्न माग गरे ।

केन्द्रीय कार्यालय सानेपामा आजदेखि शुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै कोइरालाले प्रश्न गरे- कांग्रेस–एमाले गठबन्धनको सरकार बन्नुपर्छ भन्ने म नै हुँ । तर, मैले कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ भनेको थिएँ । के कारणले कांग्रेसले एमालेलाई सत्ताको नेतृत्व दियो ?

गत वर्ष असार १७ गते मध्यराति भएको सात बुँदे सहमतिअनुसार संविधान संशोधनको विषयमा भएको प्रगतिबारे पनि उनले देउवासँग जवाफ माग गरेका छन् । भने- सभापतिज्यूले यसको चित्त बुझ्ने जवाफ दिनुपर्छ ।

गत आम निर्वाचनमा माओवादी केन्द्रसँग गठबन्धन गरेर अहिले एमालेसँग सत्ता सहकार्य गर्नु बेठिक भएको पनि कोइरालाको धारणा रह्यो । । त्यतिबेला के कारणले माओवादीसँग गठबन्धन गरिएको हो र अहिले किन एमालेसँग सहकार्य भयो भन्ने विषयको जवाफ पार्टीले दिनुपर्ने उनको मत छ ।  

‘०७९ को संघीय र प्रदेश निर्वाचनमा माओवादीसँग गठबन्धन गरेर गयौँ । अहिले एमालेसँग सरकारमा छौँ,’ कोइरालाले प्रश्न गरे, ‘त्यतिबेला के कारणले माओवादीसँग गठबन्धन गर्‍यौँ र अहिले के कारणले एमालेसँग सत्ता सहकार्य भयो ?’

टिप्पणीहरू