इन्जिनियरको बिल वडाध्यक्षले च्यातेपछि कुश्मामा बबाल

इन्जिनियरको बिल वडाध्यक्षले च्यातेपछि कुश्मामा बबाल

पर्वतको कुश्मा नगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष रुद्रमोहन रिमालले इन्जिनियरले तयार पारेको योजनाको बिल च्यातेका छन् ।

वडाध्यक्ष भएपछि पनि निर्माण व्यवसायमा संलग्न रहँदै आएका रिमालले प्राविधिकले काम गरेको कम बिल उठाएको भन्दै कुश्मा नगरपालिका कार्यालयमा सोमबार च्यातेका हुन ।

आइतबार राति पटक–पटक नगरपालिकाको प्राविधिक शाखा प्रमुखलाई मोबाइलमा म्यासेज गरेर धम्की दिएका रिमालले सोमबार बिल च्यातेको कुश्मा नगरपालिकाका एक कर्मचारीले जानकारी दिए । सडक बोर्डबाट सञ्चालित योजनामा आफूले भनेअनुसार प्राविधिकले बिल नबनाइदिएको भन्दै प्राविधिक प्रमुख राजेश बन्जारालाई अस्ति राति धम्काएको बताइन्छ ।

‘मसंँग दुष्मनी गर्ने कोही बचेको छैन’ भन्दै धम्की दिएका रिमालले हिजो नगरपालिकामा प्राविधिकले तयार पारेको बिल च्यातेको प्रत्यक्षदर्शी कर्मचारीले जानकारी दिए । प्राविधिकले तयार पारेको बिल च्यातेपछि नगरपालिकामा हंगामा मच्चिएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले आफू मातहतका प्राविधिक कर्मचारीले तयार पारेको बिल च्यातेकोमा गम्भीर आपत्ति जनाएका छन् । वडा अध्यक्ष र प्राविधिक कर्मचारीलाई आफ्नो कार्यकक्षमा राखेर पौडेलले वडाध्यक्ष रिमाललाई तपाई जनप्रतिनिधि की निर्माण व्यवसाय हो पहिचान दिनुस् भनेका थिए । सरकारी कागजात च्यातेकोमा रोष प्रकट गर्दै पौडेलले सरकारी कर्मचारीहरु टिका लगाएर जागिर खान नआएको बताए ।

‘इन्जिनियरले तयार गरेको योजनाको बिल च्यातेर तपाईंले गम्भीर गल्ती गर्नुभएको छ, तपाईं जनप्रतिनिधि होकी ठेकेदार हो आफ्नो पहिचान खुलाउनुस्’ कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलले वडाध्यक्ष रिमाललाई भने । रिमालले योजनाको बिल निकै कम घटाइदिएको गुनासो राखेका थिए । केही वर्ष यता ठेक्कापट्टा व्यवसायमा संलग्न रहेका रिमालले वडाध्यक्षको टिकट पाएपछि आफ्नो नामको निर्माण कम्पनी श्रीमतीको नाममा नामसारी गरेका थिए ।

वडाध्यक्षमा निर्वाचित भएपछि वडामा रहेका योजनाको आफू अनुकूल उपभोक्ता समिति गठनगरी भूमिगत रुपमा आफै काम गर्दै आएका रिमालले काम गरेका हरेक योजनामा अख्तियारमा मुद्दा पर्दै आएको छ । ‘वडामा उपभोक्ता समिति त नाम मात्रै हो काम आफै वडा अध्यक्षले गर्दै आउनुभएको छ’ कुश्मा १४ का एक स्थानीयले भने ।

कुश्मा नगरपालिकाका प्राविधिक शाखा प्रमुख बन्जाराले वडा अध्यक्षको हर्कत आपत्तिजनक भएको बताए । ‘समय गलत छ, हामीले जति काम भएको छ, त्यति नै बिल तयार गर्ने हो, निर्माण पक्षले भनेबमोजिम नभएको कामको बिल बनाउन त सकिएन नी’ उनले भने ।

टिप्पणीहरू