सतर्कताको स्याल हुईँयाले लिएको सातो र वास्तविकता
जीवन श्रेष्ठ
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले गत बुधबार एउटा विज्ञप्ति जारी गर्यो । चिनियाँ अधिकारीको हवाला दिइएको विज्ञप्तिमा भोटेकोसी नदीमा ठूलो बाढी आउने सम्भावना रहेको हुँदा नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरिएको थियो । असार ३ गतेदेखि ७ गतेसम्म तिब्बतका विभिन्न क्षेत्रमा भीषण वर्षा हुने र त्यसको प्रभावले भोटेकोसीमा अकल्पनीय बाढी आउने सूचना सामाजिक सञ्जालमा व्यापक भएपछि त्यो सूचना क्षणभरमा भाइरल भएको थियो ।
अधिकांशले लाइक, कमेन्ट र सेयर गरे । समाजिक सञ्जाल प्रयोगकर्ताले सोही सूचनालाई कपी पोष्ट गर्दै ‘सर्तकता अपनाऔं’ भनेर डंका पिटे । नदी तटीय पालिका सरकारले रामराम जप्दै आफ्ना नागरिकलाई उच्च सतर्क हुन आग्रह गरे । सामाजिक सञ्जलमा यस्ता सतर्कताको सूचनाको साइरन एकपछि अर्को बज्न थालेपछि लिपिङदेखि दोलालघाटसम्मका नदी तटीय क्षेत्रका बासिन्दाहरु डराउनु स्वाभाविक थियो ।
त्यसपछि स्थानीयको जनजीवन एकाएक अस्तव्यस्त हुन थाल्यो । कतिपयले रातभर जाग्राम बसेर नदीमा टर्च लाइट बालेर हेर्न भ्याए । वर्षेनी कुनै न कुनै विपत्तिको मारमा पर्दै आएका सिन्धुपाल्चोकेहरुमाथि महाविपद् नै आउनसक्ने भविष्यवाणी आकाशवाणीकै रुपमा आएपछि अधिकांशको ओठतालु सुक्नु अस्वाभाविक पनि भएन । तर महाविपत्ति आउने सूचना जारी गरेर, नदी तटीय क्षेत्रमा आतङ्कको बाढी सिर्जना गरेर प्रशासन कार्यालय सिन्धुपाल्चोक भने आफ्नै धुनमा मस्त देखियो ।
मानौं सूचना प्रकाशित गरेर उसले ठूलै कर्तव्य पूरा गरिसकेकोे छ । पूर्वतयारी वा प्रतिकार्य भनेकै त्यही हाउगुजी सूचना हो, उप्रान्त केही गर्नु पर्दैन जस्तो । यता नदी तटीय स्थानीय सरकारको पनि पारा उस्तै उस्तै हो नानू हात्ती र हात्ती छाप चप्पल भने जस्तै देखियो । सतर्कताको सूचनालाई सूचनापाटीमा टाँस्दै जिम्मेवार सरकारी कर्मचारी र जनप्रतिनिधिहरु घुम्ने मेचमाथि अन्धो मान्छे भनेझँैको अवस्थामा देखिए ।
धन्न दैवको लीला वा प्रकृतिको खेल तोकिएको समय सीमाभित्र त के आजको मितिसम्म पनि त्यस्तो अकल्पनीय र दुःखद घटना भएको छैन । एउटा सत्य कुरा चाँही के हो भने वर्षेनी मनसुनलगत्तै यस्ता सतर्कताका सूचनाहरु यसरी नै आतङ्को लोला बोकेर स्थानीयको घर आँगनसम्म आउने गर्छ । अनि वर्षेनी जनजीवन कोलाहलको अँध्यारो कोठामा कैद हुने गर्छ ।
भनिरहनु पर्दैन नेपाल जस्तो पहाडी मुलुकमा मनसुनी विपद् बजारिने सम्भावना सँधै रहन्छ । वर्षेनी कतै न कतै ताण्डव मच्चाएकै हुन्छ । तर यो कटु यथार्थको दोहोरिने इतिहासलाई चटक्कै बिर्संदै हामी न त विपद् पूर्वतयारीका लागि तम्सन्छौं, न त प्रतिकार्यका लागि स्रोत, साधन र शक्ति सञ्चय नै गर्छौं । उही सर्तकता सूचना जारी गर्ने बाहेक माखो मार्दैनौं ।
अहिले पनि यस्तै सूचनाको श्रृंखला जारी छ । जिल्ला प्रशासन कार्यालय यस्तो सूचना स्रोतको पहिलो पंक्तिमा पर्छ । यस्ता सूचनाहरु सामाजिक सञ्जालको जञ्जालतिर देखिन थालेपछि स्थानीयहरु आफू जोगिने होइन, फेसबुकमा सेयर गरेर अरूलाई ’ट्याग’ गर्दै त्रास बाँड्ने मेलोमा लाग्ने गरेका छन् । सामाजिक सञ्जालमा विपदको ट्रेन हेर्ने हो भने – यस्तो लाग्छ, बाढी रोक्ने वा बाढीबाट जोगिने उपाय भनेकै फेसबुके स्टाटस हो ।
पक्कै पनि सावधानीको सूचना जारी गर्नु राम्रो कुरा हो । तर त्यो सूचनासँगै न सुरक्षितस्थलको नक्सा दिने काम सूचना जारी गर्ने प्रशानसले दिएको छ न स्थानीय सरकारले नै । उद्धार टोलीको सम्पर्क नम्बर नै ! विपदका पूर्व तयारीका लागि कृत्रिम अभ्यासहरु हुने गरेको छ । महिना बित्न नपाउँदै बैठकहरु बस्ने गर्छन् तर पूर्वतयारीको नाममा कुनै नयाँ खाका कोरिएको पाईंदैन । प्रतिकार्यका लागि कुनै सामाग्री जोडिएको देखिँदैन । यस्तो अवस्था देशकै मुटु मानिने राजधानीमा भएको गत वर्षको एउटै घटनाले पनि प्रष्ट पार्दछ ।
गत असोजमा दुई दिन ठूलै वर्षा भयो । राजधानीका बागमती लगायत नदीले बाढीको तालमा ताण्डव मच्चायो । भित्री शहर, बाहिरी शहर नदी तटीय क्षेत्र जलमग्न भए । नख्खु खोलाको तटमा सानो टहरो बनाएर जिविकोपार्जन गर्दै आएका थिए राजु शाह, राज शाह मेघना शाह । त्यो टहरोमा बाढी मात्र पसेन, टहरो नै बगाएर लानेस्थिति भइसकेपछि उनीहरु छानामाथि चढेर घण्टौं गुहार मागे । तर उनीहरुको गुहार केही क्षणपछि बाढीमा गायव भयो ।
पार्टीका कार्यक्रममा हेलिकोप्टर प्रयोग गर्ने सरकार र नेताहरुले उनीहरुको उद्धारका लागि खासै योगदान गर्न नसकेको भन्दै तीव्र आलोचना भयो । उद्धारको नाममा खासै पहल नभएको पीडितहरुको दुःखेसो छ । बाढीमा फसेकालाई झण्डै नौसय मिटर तलबाट काभ्रेपलाञ्चोकको तिमाल ९, का चनिकलाल तामाङले सकुशल उद्धार गरेका थिए । विपद पूर्वतयारी, उद्धारका लागि देशकै मुटु राजधानीमा त यस्तो कन्तबिजोग छ भने अन्त के होला सहजै अनुमान लगाउन सकिन्छ ।
त्यतिखेर पनि विज्ञहरुले ठूलै पानी पर्ने र बाढी पहिरोको जोखिम बढ्ने सूचना जारी गरेकै थियो तर सरकारले त्यो सूचनालाई सम्प्रेषण मात्र गरिरह्यो । नागरिकले पनि त्यसलाइ सियर मात्र हानिरह्यो तर पूर्वयोजना, उद्धार र प्रतिकार्यका लागि कुनै योजना अघि सारेन र अन्ततः ठूलै जनधनको क्षति व्यहोर्नु पर्यो ।
अहिले पनि मनसुन सुरु भएको दुईसाता नाघिसकेको छ । यो बीच फेरि पनि त्यस्ता सतर्कताका सूचनाहरु आउने नै छ । बाजा नबजाइकन नै सुटुक्क्कै विपद आउने सम्भावना पनि छ तर त्योभन्दा पूर्व जोखिमयुक्त क्षेत्रको नक्सा सार्वजनिक गरिनुपथ्र्यो, तटीय क्षेत्र वा जोखिमयुक्त बस्तीमा रहेका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने योजना बनाइनुपथ्र्यो।
दीर्घकालीन र स्थायीरुपमा ती बस्तीहरु स्थानान्तरण गर्न नसकिए पनि अल्कालीन रुपमा मनसुनभर बस्ती सार्ने योजना वा केही त्यस्तै आपत आइपरेमा सुरक्षित स्थानमा आपतकालीन सामुदायिक भवनहरु निर्माणमा तीव्रता दिइनुपथ्र्यो । जोखिमयुक्त बस्तीहरुबाट महिला, बालबालिका, जेष्ठ नागरिक र अपाङ्ता भएकाहरुलाई त्यस्ता सर्तकताका सूचनासँगै सुरक्षित स्थानमा स्थानान्तरणको चाँजोपाँजो मिलाउन सक्नुपथ्र्यो ।
तटीय क्षेत्रबाट गाइगोठ र फर्महरु सारिनुपथ्र्यो । जोखिमयुक्त बस्तीको पहिचानसँगै यातायातका लागि बाटोघाटो र सुरक्षित ठाउँमा हेलिप्याड निर्माणमा प्रथमिकता दिइनुपथ्र्यो । सर्तकताका सूचनासँगै एम्बुलेन्स, स्वयमसेवक र सुरक्षा दस्तालाई तयारी अवस्थामा राख्नुपथ्र्यो । पहिराले सडकहरु प्रायः बन्द गर्ने र समयमा नै उद्धार टोली घटनास्थलमा पुग्न नसक्ने यथार्थतालाई आत्मसात गर्दै नजिकका स्काभेटर गुरुहरुको सम्पर्क नम्बर संकलन गर्दै तयारी अवस्थामा राख्ने वातावरण तयार गर्न सक्नुपथ्र्यो । आवश्यक जनशक्तिको अध्ययन गर्दै, आवश्यकताको आधारमा जनशक्ति थप्दै, औषधिमूलोको उच्च –व्यवस्थापनका साथ नजिकका स्वास्थ्यचौकीहरुलाई चुस्तदुरुस्त र हाइ अलर्टमा राख्न सक्नुपथ्र्यो।
यी थोरै तर महत्वपूर्ण व्यवस्थापकीय जिम्मेवारीलाई मात्र सजगताका साथ निर्वाह गर्ने हो भने पनि क्षति न्यूनीकरण हुने नै थियो, हुने नै छ तर सरकारलाई यसतर्फ कुनै पनि चासो छैन । नागरिक पनि के कम र ? बाढी आयो भने बरु भागौंला भनेर खोलामा टर्च बालेर हेरेर बस्छन् तर सामान्य झटपट झोलाको समेत जोहो गर्दैनन् ।
जुनसुकै स्थानीय तहको फेसबुक पेज खोल्नुस् सबैजना कुनै न कुनै प्रतियोगिताको तयारी गरिरहेको जस्तो गरी ‘सतर्क रहनुस्’ टाइप गर्दैछन् । यिनीहरुको काम नै ‘सर्तक रहनु’ भन्ने हो जस्तो लाग्छ । उद्धारका लागि डुङ्गा छैन, रेडक्रसको तालिम लिएका स्वयंसेवक कहाँ छन् थाहा छैन, पालिकामा प्रतिकार्य सामाग्री छैन । बरु उल्टै विपदपछि अनुगमन गर्ने र मृतकको नाममा शोक विज्ञप्ति निकाल्ने होडमा देखिन्छन् ।
गत वर्षकै असोजमा विपदलगत्तै म पनि निस्किएको थिए सुरक्षा दस्ताको पछिपछि । चौतारादेखि बन्देउसम्म पूरै सडक पहिरोले अवरुद्ध थिए । सडकमा रुखहरु ढलेका थिए । सुकुटेको एउटा रिसोर्टमा पहिरोले मान्छे पुरिएको खबर प्राप्त भएको थियो । उद्धारका लागि सेना, प्रहरी र सुरक्षाका उच्च पदस्थ कर्मचारीका साथ मेरो पनि सहभागिता रहेको थियो । तर अचम्म त विपद् पूर्व तयारी र प्रतिकार्यका लागि डंका पिट्न महिर प्रहरी, प्रशासन र सेनासँग प्रतिकार्यका लागि कुनै समाग्री साथमा थिएन ।
पहिरो छिचोल्दै हर्रेडाँडा जसोतसो पुग्यौं । अलि पर पुगेपछि ठूलै रुखले सडक छेकेको रहेछ । रुख हटाउने कुनै सामाग्री थिएन । धन्न आर्मीको एउटा गाडीमा एउटा बञ्चरो रहेछ । त्यही बञ्चरोले रुख दुईटुक्रा पार्ने काम भयो । एउटा वडाअध्यक्ष भर्खरै किनेको आधुनिक आरा लिएर आयो तर दुःखद त्यो आरा चलाउने सीप र क्षमता कसैसँग थिएन । थप सेनाको टुकडी झिकाइसकेपछि रुखलाई छेउतिर तानेर बाटो खुल्ला गरियो। अलितल नगरपालिकाको स्काभेटर बाटो पन्छाउँदै फर्कंदै रहेछ । किन फर्केको भनि चालकलाई प्रश्न गर्दा तेल सकिएर फर्किएको भन्ने जवाफ आयो । म छक्क परें । त्यत्रो विपद, जताततै पहिरो नै पहिरो अनि त्यही पहिरो पन्छाउनका लागि जगेडा तेलको जोहो नै नगरि नगरपालिकाले स्काभेटर कुदाएको रहेछ ।
स्यालको सिकार गर्न जाँदा बाघको गोली बोक्नुपर्छ भन्ने सामान्य नेपाली उखानलाई समेत बिर्संदै विपदकै क्षणमा पनि कुनै थप तयारी विना हचुवा प्रतिकार्य र उद्धारमा निस्कँदा त्यो प्रभावकारी मात्र होइन, त्यस्ता प्रयास फगत बालुवामा पानी सरह हुने दृष्टान्त हो यो । सालिन्दा आउने विपदको न कुनै पूर्वतयारी हुन्छ, न त प्रतिकार्यका लागि ठोस योजना नै बनाइएको पाइन्छ । बनाइहाले पनि कागजमा सीमित हुने गरेको छ ।
मनसुन भर्खर सुरु भएको छ, अझै पनि आपतकालीन तयारीका लागि ढिलो भएको छैन । बेलैमा सतर्कताको स्याल हुँइयासंगै प्रतिकार्य, उद्धार र पूर्वतयारीको प्रपञ्च मिलाउन नसकिए हामीसँग केवल छेपारोको कथा र गोहीको आँसु मात्रै बाँकी रहने छ ।
टिप्पणीहरू