सरकारको प्रभावकारितालाई लिएर कांग्रेस बैठकमा प्रश्न

सरकारको प्रभावकारितालाई लिएर कांग्रेस बैठकमा प्रश्न

नेपाली काँग्रेसका नेताहरूले सरकार सात बुँदे सहमतिअनुसार चल्न नसकेको भन्दै आलोचना गरेका छन् । जारी केन्द्रीय कार्यसमिति बैठकमा आज बोल्ने अधिकांश सदस्यहरूले सरकारको प्रभावकारीतालाई लिएर प्रश्न उठाए । 

सात बुँदै सहमतिअनुसार सरकार अघि बढ्न नसकेको अधिकांश नेताको निष्कर्ष छ । नेता अर्जुननरसिंह केसीले सरकारको कामप्रति सन्तुष्ट हुने अवस्था नरहेको जनाउँदै बैठकमा कुरा उठेको सुनाए । त्यस्तै, गठबन्धनमा काँग्रेसले आफ्नो पहिचान कायम गर्न नसकेको भन्दै  नेताहरूले गुनासो गरेको उनले जानकारी दिए ।  

यथास्थितिबाट काँग्रेसले गति लिन नसक्ने भएकाले पार्टीलाई नेताप्रधान नभइ नीतिप्रधान बनाउनुपर्ने माग पनि केसीले गरेका छन् । ‘सत्ता गठबन्धनभित्र नेपाली काँग्रेसको पहिचान देखिन कम भयो भन्ने छ । त्यो अभिव्यक्ति केन्द्रीय समितिमा पनि आएको छ’, उनले भने, ‘यथास्थितिबाट काँग्रेसले गति लिन सक्दैन । पार्टीलाई नेताप्रधान नभइ नीतिप्रधान बनाउनुपर्छ।’

प्रवक्ता डा. प्रकाशशरण महतले पनि सरकारको प्रभावकारितालाई लिएर बैठकमा प्रश्न उठेको बताए । उनका अनुसार सरकारले थप मेहनत गर्नुपर्नेमा अधिकांश सदस्यहरुको जोड थियो । 

बजेटको सन्दर्भमा देखिएका समस्यालाई पार्टीले गम्भीरताका साथ लिएर छलफल गर्नुपर्ने सुझाव आएको महतले बताए । सरकारमा पार्टीको उपस्थिति बलियो हुनुपर्ने सुझाव आएको पनि उनले जानकारी दिए । 

‘सरकारको प्रभावकारिबता बढ्नुपर्यो, मेहनत गर्नुपर्छ । अझ प्रभावकारीताका साथ काम गर्नुपर्छ । कतिपय बजेटको प्रक्रियामा समस्याहरु देखिएका छन्, प्रदेश र केन्द्रमा । यसमा पार्टीले गम्भीरताकासाथ लिनुपर्छ’, महतले सुनाए,‘पार्टीले विशेष सरोकार राखेर छलफल गर्ने र र्देशन दिने काम गर्नुपर्छ । सरकारमा उपस्थिति प्रभावकारी हुनुपर्छ । कुनैपनि त्रुटी वा कमजोरी हाम्रो तर्फबाट रहनु हुँदैन भन्ने चासो र चिन्ता छ ।’

सरकार चुस्तसँग चल्नुपर्छ भन्नेमा अधिकांशले चासो राखेको उपसभापति धनराज गुरुङको भनाइ छ । सरकारका कामका बारेमा टिकाटिप्पणी हुनुलाई स्वभाविकरुपमा लिनुपर्ने मत राखेका उनले यहि कारण गठबन्धन परिवर्तन नहुने प्रष्टीकरणसमेत दिए । 

सात बुँदे सहमतिलाई आधार बनाएर सरकार चल्नुपर्नेमा त्यसो हुन नसकेको चिन्ता पनि कांग्रेस बैठकमा देखिएको छ । नेता एनपी साउदका अनुसार सरकार गठनको औचित्य, भावी कार्यदिशा र मुलुकलाई रुपान्तरणका लागि निर्वाह गर्नुपर्ने भूमिकासँग सात बूँदे सम्बन्धित रहेकाले बैठकमा कुरा उठेको हो । 

 
बैठकमा संविधान संशोधनको एजेण्डामा भएका प्रगतिबारे पनि प्रश्न उठ्यो । नेता राजन केसीले यसमा गृहकार्य भइरहेको बताएका छन् । सरकारबाट भएका कमी, कमजोरी सच्याउँदै अघि बढ्नुको विकल्प नरहेको उनले प्रष्ट पारे ।
 
‘सात बुँदेमा हाम्रो संविधान संशोधनको मुद्दा पनि थियो । त्यो मुद्दामा गृहकार्य भइरहेको छ । अन्य सवालमा काम भइरहेको छ । अब काम गर्दै जाँदा कतिपय कमी, कमजोरी भएका होलान् । त्यसलाई सच्याएर लैजाने हो', केसीले भने, 'लोकतन्त्रमा पहिलो र दोस्रो हुने पार्टी स्थिर सरकार दिनका लागि अभ्यास गरिएको छ । स्थिर सरकारले नै मुलुकको विकास गति अघि बढ्छ । संविधान संशोधनका लागि गृहकार्य भइरहेको छ ।’
 

टिप्पणीहरू