पद छोड्न रामहरिलाई चौतर्फी दबाब

पद छोड्न रामहरिलाई चौतर्फी दबाब

नेपाली कांग्रेसका सांसद, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडामाथि राजीनामाको चौतर्फी दबाब बढेको छ । निजामती विधेयकको कुलिङ पिरियड हेरफेर प्रकरणमा उनको भूमिकाप्रति शंका गर्दै नेपाली कांग्रेससहितका दलले राजीनामा मागेका हुन् । 

आज बसेको समिति बैठकमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले निजामति विधेयकमा छेडखानी भएको भन्दै सभापति खतिवडा र सचिव सुरजकुमार दुरा नैतिकरुपमा पदमा बसिरहन नमिल्ने बताए । 

कांग्रेस सांसद हृदयराम थानीले सभापति खतिवडाको राजीनामासहित छानविन समितिको माग गरे । ‘निजामती विधेयकमा भएको छेडखानीको विषयमा निष्पक्ष छानबिन हुनुपर्छ’, उनले भने, ‘त्यसको लागि उच्चस्तरीय संसदीय समिति बनाएर अघि बढौँ’ । एक व्यक्तिकाे चाहनामा यति ठूलो गल्ती हुन नसक्ने थानीको विश्लेषण छ । 

एमाले सांसद पदम गिरीले पनि खतिवडालाई पद छोड्न भनेका छन् । ‘समितिले महिनौं लगाएर छलफल गरेर कुलिङ अफ पिरियड दुइ वर्षसम्म कायम रहने एक मतले पारित गरेको विषय हो’, उनले भने,‘सभापति र सचिवको हस्क्षातर भएको प्रतिवेदन फरक ढंगले प्रस्तुत गरियो, यसको जिम्मेवारी लिएर सभापति र सचिवले राजीनामा दिनुपर्छ ।’

यो प्रकरणमा खतिवडा र दुराको राजीनामासहित छानविनको लागि प्रमुख प्रतिपक्ष माओवादीले संसदीय समिति गठनको माग अघि सारेको छ । प्रमुख सचेतक हितराज पाण्डेले सभापति र सचिवमाथि कारवाही हुनुपर्ने समेत बताए । 

‘यो सानोतिनो षड्यन्त्र होइन’, उनले भने, ‘यो गम्भीर विषय हो, सभापति र सचिवज्यूले राजीनामा दिएर छानविनमा सघाउनुपर्छ ।’ 

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले पनि ‘संसदलाई बदनाम गराउने गरी ठूलो खेल भइरहेको’ भन्दै सभापति र सचिवको राजीनामा माग गरेका छन् । 

सभापति खतिवडाले भने राजीनामा नदिने तर छानविनमा दोषी ठहरिए सजाय भोग्न तयार रहेको बताएका छन् । हिजो बिहान सभामुख देवराज घिमिरेसँगको छलफलमा उनले सो कुरा स्पष्ट पारेका हुन् ।

'बाहेक भन्ने शब्द कसरी थपियो, त्यसमा मलाई कुनै जानकारी छैन’, उनले भनेका थिए, ‘तर यो गम्भीर त्रूटी हो, ममाथि पनि छानविन होस्, दोषी देखिए भने कारवाही भोग्न तयार छु ।’

संसदीय समिति र प्रतिनिधि सभाबाट पारित गरेको विधेयकको मूल विषय (कुलिङ अफ पिरियड) मै अन्तर देखिएपछि यो विषय चर्को विवादमा छ ।
 

टिप्पणीहरू