विदेशमा बैंक खोल्ने चौधरीको चाहना व्यक्त
नेपाली काँग्रेसका सांसद तथा व्यापारी विनोद चौधरी विदेशमा पनि बैंकको शाखा खोल्न दिनुपर्ने पक्षमा उभिएका छन् । देशबाहिर पनि होटल र रियलस्टेटजस्ता क्षेत्रमा लगानी गरेका उनले विदेशमा बैंकको शाखा खोल्न पाउनुपर्ने मत राखेका हुन् ।
आज सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै चौधरीले अष्ट्रेलिया मलेसियामा बैंक खोल्न दिनेगरी कानुन बनाउनुपर्ने बताए । नेपाली बैंकले नेपालीको पुँजी संकलन गर्न किन नपाउने ? भन्ने उनको प्रश्न छ ।
बाफिया विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै चौधरीले भने, ‘बाफिया ड्राफ्ट दुई वर्षदेखि बनाएर राखिएको छ । अहिले धेरै परिवर्तन भइसकेको छ । बाफिया फिर्ता पठाउनुपर्छ । नयाँ दृष्टिकोणबाट यो विधेयकलाई पुनःड्राफ्ट गर्नुपर्छ । नेपालका बैंकलाई बाहिरसमेत जान दिनुपर्छ । अष्ट्रेलिया, मलेसियामा बैंकका शाखा खोल्न दिनुपर्छ । नेपालीको पुँजी नेपाली बैंकले किन संकलन गर्न नपाउनु ?’
विधेयक पुनःलेखन गरेर सोसम्बन्धि व्यवस्था राखिनुपर्ने माग चौधरीको छ । बैंकमा लगानी हुँदैमा उद्योगी, व्यवसायीले पैसा लिन्छन् भन्ने भ्रम हटाउनुपर्नेमा पनि उनले जोड दिए ।
टिप्पणीहरू