हुँदै नभएको स्कुलको नाममा साढे सात लाख झ्वाम

हुँदै नभएको स्कुलको नाममा साढे सात लाख झ्वाम

डोल्पामा अस्तित्वमै नरहेको विद्यालय भवन निर्माणका नाममा भ्रष्टाचार भएको पाइएको छ ।

तत्कालिन जिल्ला प्राविधिक कार्यालयका प्रमुख इन्जिनियर रविचन्द्र पजियारसहित चार जनाविरुद्ध उक्त अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ । मुद्दा चलाइएकामा तत्कालिन लेखापाल मनिराम कुर्मी, उपभोक्ता समिति अध्यक्ष नन्दसिंह बुढा र कोषाध्यक्ष संगिता बुढा छन् । 

उनीहरुले आपसी मिलेमतोमा साविकको दुनै गाविस २ र ३ का कुनै पनि वडा र बस्तीमा नरहेको दुर्गा प्राथमिक विद्यालयको नाममा भवन निर्माणको योजना पारेर रकम अनियमितता गरेको अख्तियारको दाबी छ । उनीहरुले काल्पनिक उपभोक्ता समिति खडा गरेर छानासहितको दुई कोठे भवन निर्माण गरेको नक्कली कागजात तयार पारी सात लाख ६० हजार रुपैयाँ भुक्तानी लेनदेन गरेको खुलेको छ । 

अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोग पत्रमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम उक्त रकम जफत गरी कैद र जरिवाना सजाय तोक्न मागदावी गरिएको छ ।

टिप्पणीहरू