राप्रपाको चुनावी कमाण्डर ध्रुवबहादुर
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देही- ३ मा हुन गैरहेको उपनिर्वाचनको तयारीमा जुटेको छ । धुम्बाराहीस्थित पार्टी कार्यालयमा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उपाध्यक्ष ध्रुबबहादुर प्रधानको नेतृत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ ।
समितिमा केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष निरञ्जन थापा, लुम्बिनी प्रदेश समितिका अध्यक्ष प्रदिप उदय, सहायक महामन्त्री ताहिर अलीसहित लुम्बिनीबाट केन्द्रीय कार्यसम्पादन समितिमा प्रतिनिधित्व गर्ने नेताहरु सदस्य रहने बताइएको छ ।
उपनिर्वाचनमा सम्भावित उम्मेद्वारको नाम सूची र सिफारिससहितको पत्र असार मसान्तभित्र केन्द्रीय कार्यालयमा पठाउन जिल्ला कार्य समितिलाई निर्देशन दिने पनि राप्रपाको निर्णय छ ।
बैठकमा स्थानीय, जिल्ला र प्रदेश तहको अधिवेशन असोज मसान्तसम्म गरिसक्ने पार्टीको योजना भए पनि त्यसो हुन नसकेकोबारे पनि समीक्षा गरिएको छ । तोकिएको समयमै अधिवेशन सम्पन्न गर्न/गराउन सबै जिल्लामा केन्द्रीय पर्यवेक्षक खटाउने बताइएकाे छ ।
त्यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ज्ञापन पत्र बुझाएर भ्रष्टाचारविरुद्धको अभियानलाई सशक्त बनाउने राप्रपाको योजना छ । बैठकले आगामी भदौ दोस्रो साता केन्द्रीय कार्य समितिको बैठक बोलाउने निर्णय पनि गरेको छ ।
०७९ को आम निर्वाचनमा रुपन्देही-३ बाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपक बोहराको निधन भएसँगै सो क्षेत्र रिक्त छ ।


टिप्पणीहरू