रास्वपा नेतामाथि मजदुर कुटेको आरोप, पीडितले प्रहरी गुहारे
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाका नेता प्रकाश अर्यालमाथि मजदुर कुटेको आरोप लागेको छ । पीडित भनिएका राजकुमार राईले उनीविरुद्ध इलाका प्रहरी कार्यालय वालिङमा उजुरी दिएपछि हिजोको घटना आज बाहिर आएको हो ।
घटना विवरणअनुसार मिस्त्री काम गर्ने उनी हिजो साँझ काम सकेर कोठामा बसिरहेका थिए । ठिक त्यतिबेला अर्याल नेतृत्वको समूह अश्लिल गालीगलौज गर्दै आक्रमणमा उत्रिएको पीडितको गुनासो छ । ‘यहाँ फेरि देखे भने मारिदिन्छु’ भन्दै धम्की समेत दिएको उजुरीमा उल्लेख गरिएको छ ।
‘प्रकाश अर्यालसहितका व्यक्तिहरुले कुनै कारण बिना नै अश्लिल शब्द प्रयोग गर्दै मलगायत मेरा साथीहरुलाई कुटपिट गरे’, उजुरीमा भनिएको छ, ‘कुटपिटबाट म र मेरा साथीहरु घाइते भएका छौँ ।'
कुटपिटमा संलग्नहरुलाई तत्काल पक्राउ गरेर कानुनी कारवाही गर्न उनले माग गरेका छन् । इलाका प्रहरी कार्यालय वालिङले घटनालाई गम्भीर रुपमा लिएको बताएको छ ।
एक प्रहरी अधिकृतले जनआस्थासँग भने, ‘आज निवेदन परेको छ, हामीले यसलाई सिरियस रुपमा लिएर अनुसन्धान अघि बढाएका छाैँ, घटनामा संलग्नहरुमाथि चाँडै कारवाही हुन्छ ।’
स्रोतका अनुसार अर्याल त्यही व्यक्ति हुन्, जसले ०८४ को निर्वाचनबाट वालिङ नगरपालिकाको मेयर बन्ने भन्दै स्थानीय सरकारविरुद्ध अभियान चलाइरहेका छन् । उनले त्यहाँका मेयर, उपमेयर र अन्य जनप्रतिनिधिविरुद्ध पनि दुष्प्रचार गर्दै आएको बताइन्छ ।
उनको सामाजिक सञ्जाललाई अध्ययन गर्ने हो भने कारगारमा रहेका पार्टी सभापति रवि लामिछानेको पक्षमा विभिन्न सामाग्री प्रचारप्रसार गरेको देखिन्छ । सहकारी ठगी प्रकरणमा कारागार पुगेका लामिछानेलाई छुटाउन उनले हस्ताक्षर संकलन अभियान समेत चलाइरहेका छन् ।
यसअघि रास्वपा वालिङ नगर कमिटीका एक नेतामाथि स्थानीय युवाहरूले कुटपिट गरेको घटना सार्वजनिक भएको थियो । उक्त घटनासँग यो घटना सम्बन्धित नरहेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू