चिडियाखानामा असारे पूजा

चिडियाखानामा असारे पूजा

ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा असारे पूजा (वनदेवी पूजा) गरिएको छ । जनावरहरुको रक्षा र सुःस्वास्थ्यका लागि विधिवत रुपमा पूजाआजा गरिएको जनाइएको छ । 

आज गरिएको पूजाआजाको सामग्री विसर्जन भोलि चिडियाखानाकै पोखरीमा गरिने प्रमुख सत्यनारायण साहले बताए । हरेक वर्ष असारमा वनदेवी पूजा गर्ने प्रचलन छ । चिडियाखानामा मात्र नभएर देशभरका राष्ट्रिय निकुञ्जमा यस्तो पूजा गरिने उनले जानकारी दिए । पूजाआजा असार महिनाभित्र अनुकूल दिनमा गरिन्छ । 

‘यो पूजा विशेषतः निकुञ्जहरुमा गरिन्छ । वर्षात्को समयमा निकुञ्ज बन्द हुन्छ । जनावरको सुःस्वास्थ्य र वर्षाबाट रक्षाका लागि यो पूजा गरिने हो । असार महिनाको जुनसुकै दिन गरेपनि हुन्छ’,उनले भने । यस्तो पूजा विगत लामो समयदेखि गरिँदै आएको उनी बताउँछन् । कोभिडलगायत विभिन्न कारणले केही समय पूजा गरिएन । यस वर्षदेखि पुनः शुरुवात गरिएको प्रमुख साहले जानकारी दिए । 

भन्छन्,‘ठ्याक्कै मिति त थाहा छैन तर पूजा गर्न थालेको लामो समय भइसकेको छ । बीचमा पाँच–सात वर्ष रोकियो । यो वर्षदेखि फेरि शुरुवात गरिएको हो ।’ चिडियाखानामा यस्तो पूजा हात्तीको सुसारेले गर्ने चलन छ । कर्मचारीहरु सहभागी हुने गरेको पूजामा पाँच देखि १० हजार रुपैयाँ खर्च हुने गरेको छ ।

टिप्पणीहरू