पार्टीबाट लखेटिएका राप्रपाका नेताहरू निर्वाचन आयोगमा

पार्टीबाट लखेटिएका राप्रपाका नेताहरू निर्वाचन आयोगमा

पूर्वपञ्चहरूको पार्टी राप्रपामा आन्तरिक किचलो चर्किएको छ । अध्यक्ष राजेन्द्रप्रसाद लिङ्गदेनले जिम्मेवारीबाट हटाएका दुई नेता निर्वाचन आयोग गुहार्न पुगेपछि लफडा निम्तिएको हो ।

लिङ्गदेनले केही दिनअघि अनुशासन आयोगको अध्यक्षबाट नवराज सुवेदी र प्रवक्ता पदबाट सगुनसुन्दर लावतीलाई निष्कासन गरेका थिए । पार्टीको विधानविपरीत अध्यक्षले एकलौटीरूपमा गरेको उक्त निर्णय मान्य नहुने भन्दै संस्थापन इतर खेमाले आपत्ति जनाएको छ । लिङ्गदेन पक्षका नेताहरूले भने निर्णयको बचाऊ गरेका छन् ।

पूर्व राजा ज्ञानेन्द्र शाहको चाहना बमोजिम 'राजसंस्था पुनर्स्थापनाका लागि जनान्दोलन समिति' को संयोजक बनेपछि चैत पहिलो साता सुवेदीले राप्रपा परित्याग गरेको घोषणा गरेका थिए । सोहीअनुसार लिङ्देनले अनुशासन समितिबाट उनलाई हटाएर रोशन कार्कीलाई अध्यक्ष नियुक्त गरेका थिए ।

तर, सुवेदीले आफू पार्टीबाट नबाहिरिएको दाबि गर्दै अनुशासन समितिको अध्यक्षको जिम्मेवारी पाउनुपर्ने माग राखेका छन् । लौरो टेकेर निर्वाचन आयोगमा पुगेका उनलाई संस्थापन इतर खेमाको नेतृत्व गर्ने महामन्त्री धवलशमशेर राणाको साथ छ ।

यो निर्णय स्वेच्छाचारी र पार्टीको विधानविपरीत भएको भन्दै हिजो धवलको संयोजकत्वमा छुट्टै भेला राखिएको थियो । भेलाले नवराज र लावतीलाई हटाइएकोविरुद्ध आयोगमा चुनौती दिने निर्णय गरेको थियो ।

भेलामा पूर्वअध्यक्ष एवं निर्देशन समिति अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, कार्यसम्पादन समिति सदस्य हरिबहादुर बस्नेत, वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, उपाध्यक्ष मुकुन्दश्याम गिरी, महामन्त्री राणा, महामन्त्री कुन्तीकुमारी शाही, लिङ्देनले हटाएका भनिएका प्रवक्ता लावती, सहायक प्रवक्ता प्रविनकुमार थोकर तामाङ, सहायक महामन्त्री प्रेम बलायर, सहायक महामन्त्री ऋषिराज देवकोटा, सहायक महामन्त्री सौरेन्द्रबहादुर शाहलगायत ५० जना सहभागी थिए ।

टिप्पणीहरू