उखान टुक्काले मात्रै सुशासन नआउने माओवादी नेतृको ठहर
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले मन्त्रीले घुस डिल गरेको अडियो सार्वजनिक हुँदा पनि प्रधानमन्त्री चुप बसेकोमा आपत्ति जनाएको छ । सांसद दुर्गा राईले प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै प्रधानमन्त्रीको उखान टुक्काले मात्रै सुशासन नआउने बताइन् ।
मालपोतको कार्यालयका प्रमुखको सरुवा रोक्न र भूमि आयोग कास्कीको अध्यक्ष बनाइदिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले घुस ‘डिल’ गरेको अडियो सार्वजनिक भएको पृष्ठमूभमिमा प्रधानमन्त्रीको मौनता रहस्मय रहेको सांसद राईको भनाइ छ । ‘सम्माननीय प्रधानमन्त्रीज्यूको म घूस पनि लिँदैन, अरूलाई घूस लिन पनि दिन्न भन्ने टुक्काले पुग्छ कि पुग्दैन ? प्रधानमन्त्री चुप लागेर बस्ने हो ?,’ उनले सोधिन्, ‘मन्त्रीको घुस डिल बाहिरिएपछि सरकारले एक्सन लिनुपर्छ कि पर्दैन ? यस्ता मन्त्रीहरूले नैतिकता देखाउने विषय त टाढा भइसक्यो !’
सांसद राईले प्रधानमन्त्रीलाई जवाफ दिन सभामुख देवराज घिमिरेसमक्ष रुलिङको आग्रह समेत गरिन् ।
टिप्पणीहरू