माकुरोको जालोमा कहिल्यै भैंसी अल्झिँदैन

माकुरोको जालोमा कहिल्यै भैंसी अल्झिँदैन

प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको एकतालाई मजबुत बनाएर संकल्पका साथ लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ । त्यसो भएमा मात्रै एमालेलाई अरुले हराउन नसक्ने उहाँको निश्कर्ष छ ।

पार्टीकोे झापा जिल्लास्तरीय कार्यकर्ता भेलालाई गृहजिल्लामा सम्बोधन गर्दै उहाँले एमालेमा लामो समय बसेर विभिन्न जिम्मेवारी र लाभको अवसर लिएका कतिपय स्वार्थी नेताहरूले विगतमा पार्टी विभाजन र पार्टी सिध्याउने षड्यन्त्र गरेको उहाँको आरोप छ । तर पनि कार्यकर्ता र जनताले एमालेलाई बचाएर पुनः राष्ट्रिय शक्ति बनाएको एमाले अध्यक्षको दाबी छ । पछिल्लो गतिविधि केपी ओलीविनाको एमाले देख्न चाहने प्रतिक्रियावादीहरुको खेल भएको उहाँको टिप्पणी छ । 

पार्टीभित्र र बाहिरबाट भइहेको षड्यन्त्र चिर्दै ढुक्कका साथ पार्टीको सही नीति र नेतृत्वको पक्षमा लाग्न आग्रह गर्नुभयो । ‘एमालेविनाको देश र केपी ओली विनाको एमाले होस् भन्ने कामना गर्नेहरूको कामना पूरा हुँदैन । एमाले साना स्वार्थ बोक्ने पार्टी होइन । यसको काँधमा देश बनाउने महान उद्देश्य छ । यो राष्ट्रिय हितका लागि बलिदानबाट आएको पार्टी हो,’ अध्यक्ष ओलीले भन्नुभयो ।

एमालेविरुद्ध जाल बुन्नेहरु कहिल्यै सफल नहुनेमा उहाँ ढुक्क हुनुहुन्छ । अगाडि भन्नुभयो, ‘माकुरोको जालोमा कहिल्यै भैंसी पर्दैन । हाम्रा विरुद्धको भ्रामक प्रचारको पछि लाग्नु हुँदैन । केपी ओली र एमालेले भ्रष्टाचार गर्दैन । हामी  सहकारी ठगेर मुद्दा  झेलेपछि आफ्नो पक्षमा हस्ताक्षर अभियान चलाउने रास्वपाजस्तो हुँदै होइन ।’

उहाँले नेपाललाई एमालेले नसके अरु कसैले बनाउन नसक्ने स्पष्ट गर्दै आफू प्रधानमन्त्री भएपछि फलामखानी र पेट्रोलियम पदार्थको उत्खनन, सुरुङमार्ग निर्माणजस्ता अनेकौं  विकास र समृद्धिका काम थालनी भएको र त्यसको प्रतिफल आउन थालेको बताउनुभयो । अहिले नेपालको अन्तर्राष्ट्रिय छवि देखिने र सुनिने अवस्थामा रहेको उल्लेख गर्दै उहाँले पछिल्लो स्पेन भ्रमणको सफलता सुन्न नचाहने विपक्षीले वाइसिएल प्रयोग गरेर स्पेन भ्रमणमा मान्छे छाडेर आयो भन्ने दुष्प्रचार गरेको जनाउनुभयो । कार्यक्रममा सयौं युवाहरूलाई अध्यक्ष ओलीले पार्टी प्रवेश गराउनुभएको थियोे ।

टिप्पणीहरू