‘प्रधानमन्त्रीले चित्रगुप्तलाई के बयान दिनुहुन्छ होला ?’
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गम्भीर प्रश्न गर्नुभएको छ । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उहाँले प्रधानमन्त्रीलाई सोध्नुभयो, ‘तपाईसँग बिचौलियाबाहेक अरु को खुशी छ ?’
वर्तमान सरकार दलाल र बिचौलियासँग नतमस्तक भएको उल्लेख गर्दै दाहालले प्रधानमन्त्री ओलीका व्यवहारका कारण लोकले पनि लाज मानिसकेको दाबी गर्नुभयो । भ्रष्टाचार, अराजकता र बेतिथिले देश दिनप्रतिदिन ठूलो विस्फोटतर्फ उन्मुख देखिएको उहाँको भनाई छ ।
‘मैले गत वर्ष सरकार छाड्दै गर्दा सुशासनको डरले बनेको सरकार हो यो भनेको थिएँ, त्यसमाथि सत्तापक्षका साथीहरुले सरकार छोड्दाको छटपटी भनेर टिप्पणी गर्नुभयो, प्रधानमन्त्रीज्यूले त यो खरानीको डल्लो होइन भनेर चेतावनी समेत दिनुभएको थियो, तर आजको अवस्थालाई हेर्दा मेरो अभिव्यक्ति पुष्टी भएको छ’, उहाँले भन्नुभयो, ‘कथित दुई दलको अहंकारले सरकार बिचौलियाहरुको खेल मैदान बन्दैछ, आखिर यो सरकारले कस्को स्वार्थ पूरा गरिरहेको छ, कसको इशारामा चलिरहेको छ ?’
पूर्व प्रधानमन्त्री प्रचण्डले कीर्तिपुरको क्रिकेट मैदानदेखि मन्त्रीको घुस डिलसम्मको प्रकरणले प्रधानमन्त्री नेतृत्वको सुशासन आयोगको हविगत राम्ररी देखिएको पनि बताउनुभयो । ‘सरकार त टिकेको छ, तर जनविश्वास र जनभरोसा समाप्त हुँदै गएको छ । दुई दलको सात बुँदे सहमति नै भयानक संकटबाट गुज्रिरहेको छ, लोकले लाज नै मान्नेगरी उदांगो भइसकेको छ, अब मैले आरोप लगाइरहनु पर्दैन’, उहाँले थप्नुभयो ।
सुरक्षा निकायको लागि कुनै बेला एमालेकै मन्त्रीले रोकेको हतियार खरिद प्रक्रिया अहिले पुनः कसको इशारामा अघि बढाइयो ? प्रचण्डको प्रश्न छ । त्यस्तै उहाँले धितोपत्र बोर्डमा भइरहेको चलखेल रोक्न पनि उहाँले चेतावनी दिनुभएको छ । नत्र, माओवादी त्यसको प्रतिकारमा उत्रने चेतावनी दिनुभयो ।
त्यस्तै, अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको पाइला नै बैगुनी भएको पनि बताउनुभयो । अघि सुनाउनुभयो, ‘प्रधानमन्त्रीज्यूले भ्रष्टाचार गर्दिनँ भन्दै चित्रगुप्तलाई पनि बयान दिन तयार छु भन्नुभएको थियो, तर अहिले जहाँ सरकार, त्यहाँ भ्रष्टाचार ! प्रधानमन्त्री जहाँ पुग्नुहुन्छ, त्यहाँ केही न केही विवाद हुन्छ हुन्छ, अघिल्लो वर्ष अमेरिका जाँदा के भएको थियो, त्यो तपाई आफैलाई पनि थाहा होला, अहिले फेरि स्पेनबाट फर्किएपछि त्यस्तै भयो, प्रधानमन्त्रीज्यूले अब के दिनुहुन्छ होला चित्रगुप्तालाई बयान ?’
टिप्पणीहरू