प्रचण्डलाई प्रधानमन्त्रीको जवाफ ‘तपाईंले केही गर्नु भएन’

प्रचण्डलाई प्रधानमन्त्रीको जवाफ ‘तपाईंले केही गर्नु भएन’

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कीर्तिपुर पुगेर निर्माणाधीन क्रिकेट मैदान हेर्न सुझाउनु भएको छ । त्यहाँ प्यारापिट निर्माण र फ्लडलाइट जडानको काम धमाधम भइरहेको बताउँदै प्रचण्ड सरकारले जर्जर बनाएर छाडेको अर्थतन्त्र आफूले उकासेको दाबी गर्नुभएको छ । 

प्रचण्डलाई भन्नुभएको छ, ‘तपाईंका त न कुनै वाचा, न कुनै निर्णय, न कुनै संकल्प, न कुनै काम । मैले त दिन तोकेर गर्छु भनेँ, आफैंमाथि प्रश्न आह्वान गरेँ र काम पनि गरेँ । तपाईंले जर्जर छोडेको अर्थतन्त्र अहिले कहाँ पुग्यो, तथ्याङ्क हेर्नुस् भन्ने सुझाव दिन चाहन्छु ।’

प्रचण्डले प्रतिनिधि सभाको आजको बैठकलाई सम्बोधन गर्दै वर्तमान सरकारको पहिलो घोषणा (तीन सय दिनभित्र रंगशाला निर्माण गर्ने) देखि मन्त्रीको पछिल्लो घुस डिलसम्मको प्रकरणले प्रधानमन्त्री ओली नेतृत्वको सुशासन आयोगको हविगत राम्ररी देखिएको बताएपछि उहाँले सामाजिक सञ्जालमा जवाफ दिनुभएको हो । प्रचण्डले आफ्नो प्रधानमन्त्रीत्वमा अघि सारिएको रंगशाला स्तरोन्नतीको योजनालाई ओलीले नयाँ भाषा दिएर स्टण्ट गरेको बताउँदै भन्नुभएको थियो, ‘तीन सय दिन होइन, एक वर्ष नै भइसक्यो त, तर बन्यो त रंगशाला ?’

सोही सन्दर्भमा प्रधानमन्त्री ओलीले समाजिक सञ्जालमा जवाफ फर्काउनुभएको हो । ‘मेरो आग्रह छ, बनिरहेको प्यारापिट हेर्न जानुस्, जडान हुँदै गरेको फ्लडलाइटका पोल हेर्न जानुस्, बनिरहेको छ’, ओलीले लेख्नुभएको छ, ‘तपाईं प्रधानमन्त्री हुँदा कुनै पनि कामलाई टाइमलाइन तोकेर गर्छु भन्नुभएन र तपाईंले केही गर्नु पनि परेन र गर्नु पनि भएन ।’

टिप्पणीहरू