मन्त्री बर्खास्त गर्न महामन्त्रीको आग्रह

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई तत्काल बर्खास्त गर्नुपर्ने बताएको छन् । पार्टीको पेशागत तथा बुद्धिजीवी विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले मन्त्री गुप्तालाई बर्खास्त गर्न धेरै ढिला भइसकेको जनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका हुन् । 

‘मन्त्रीलाई आफूले गल्ती गरेको होइन भन्ने आँट पनि छैन, प्रधानमन्त्रीले तुरुन्त मन्त्रीलाई बर्खास्त गरिहाल्नुहोला भन्ने मेरो अपेक्षा थियो, यसबारेमा टिप्पणी नै गर्नुपर्दैन होला भन्ने लागेको थियो’, उनले भने, ‘तर टिप्पणी गर्नुपर्ने अवस्था आयो, प्रधानमन्त्रीज्यूलाई अनुरोध गर्छु, तत्काल तपाईंको मन्त्रीलाई बर्खास्त गर्नुस् ।’

थापाले यस प्रकरणमा निष्पक्ष छानबिन गरेर अन्यलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । ‘अडियो नै सार्वजनिक भइसकेपछि अब यसमा दूधको दूध, पानीको पानी हुनुपर्छ । यसको छानबिन हुनुपर्छ, अनुसन्धान गर्दै गर्दा कहींकतै कोही दोषी देखिन्छन् भने उसलाई निशर्त कारबाही हुनुपर्छ’, उनले थपे ।

टिप्पणीहरू