घुसकाण्डमा मुछिएका मन्त्रीलाई राखेर क्याविनेट बैठक
प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा क्याविनेट बैठक बसेको छ । साँझ पौने सात बजेदेखि शुरु भएको बैठक अहिले जारी छ ।
प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकमा घुस काण्डमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता पनि सहभागी छन् । बैठकअघि प्रधानमन्त्री ओलीले उनलाई बालुवाटार बोलाएर केरकार गरेका थिए ।
बिचौलियासँग घुस मागेको सबुत प्रमाण आइसकेकाले प्रधानमन्त्रीले चाहेर पनि जोगाउन नसक्ने अवस्था बनेको छ । र, उनलाई आजै बर्खास्त गर्ने चर्चा चलेपनि अहिलेसम्म निर्णय भएको छैन ।
क्याविनेट बैठक सकिएपछि बालुवाटारमै सत्ता गठबन्धनको बैठक बोलाइएको छ । जहाँ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणापछि पनि अनिर्णित रहेको जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव सहभागी हुने बताइएको छ । देउवासँग सल्लाह र सहमतिपछि बल्ल मन्त्री गुप्तबारे प्रमले निर्णय लिनसक्ने स्रोतले बताएको छ ।
टिप्पणीहरू