राजीनामा बुझाएका मन्त्री भन्छन् : ‘हार्ट अट्याक हुन लाग्यो’

राजीनामा बुझाएका मन्त्री भन्छन् : ‘हार्ट अट्याक हुन लाग्यो’

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले तनाव सहन नसकेर पदबाट राजीनामा दिएको बताएका छन् । मालपोत अधिकृतको सरुवा र भूमि आयोगको नियुक्ति दिलाउन घुस ‘डिल’ गरेको अडियो सार्वजनिक भएपछि उनले सामाजिक सञ्जाल हेर्न नसकेको र ‘हार्ट अट्याक’ नै हुन लागेको बताएका हुन् । 

आरोप लागेपछि उनी हिजो र अस्ति मन्त्रालय गएनन् । स्रोतले भन्यो, ‘घुसको विषय सार्वजनिक बहसमा आइसकेपछि उहाँ मन्त्रालय आउनुभएको छैन ।’ मन्त्री गुप्ताले राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रत्यक्ष भेटेर बुझाउने मौका भने पाएनन् । 

बिहान प्रधानमन्त्री भेट्न गएको, तर उहाँ व्यस्त रहेको थाहा पाएपछि सचिवालयमै राजीनामा बुझाएर हिँडेको बताइन्छ । उनले हिजो दिउँसो प्रधानमन्त्रीलाई भेटेर सार्वजनिक अडियोबारे ब्रिफिङ समेत गरेका थिए । भेटबाट फर्किएपछि गुप्ताको भनाई उद्धृत गर्दै ती व्यक्ति भन्छन्, ‘म सक्दिनँ सक्दिनँ, यो तनाव थेग्न सक्दिनँ, मोबाइल खोल्नै भाको छैन, हर्ट अट्याक हुन लागिसक्यो ।’  

यता, नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले मन्त्री गुप्ताको राजीनामाले ‘घुस डिल’को अनुसन्धानमा सहयोग पुग्ने बताएका छन् । उनले जनआस्थासँग भने, ‘उहाँले राजीनामा दिनुभयो, आरोप लागेपछि सम्बन्धित मन्त्रीले नै मार्ग प्रशस्त गर्नुपर्छ, उहाँको राजीनामाले अब यो प्रकरणको निष्पक्ष छानबिनमा सहयोग पुग्नेछ ।’
 

टिप्पणीहरू