भगवती न्यौपाने सामान्य प्रशासनमन्त्री नियुक्त

भगवती न्यौपाने सामान्य प्रशासनमन्त्री नियुक्त

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा भगवती न्यौपाने नियुक्त भएकी हुन् । नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्य उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले केही बेरअघि मन्त्री नियुक्त गरेका हुन् । 

मालपोत अधिकृतको सरुवा र भूमि आयोगको नियुक्ति दिलाउन घुस ‘डिल’ गरेको अडियो सार्वजनिक भएपछि निवर्तमान मन्त्री राजकुमार गुप्ताले बिहान राजीनामा दिएका थिए । लगत्तै प्रधानमन्त्री ओलीले आफ्नै दलका सांसद न्यौपानेलाई मन्त्री नियुक्तिका लागि सिफारिस गरेका थिए । 

नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्रीको सिफारिसतमा न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

राष्ट्रपति पौडेलको गृहजिल्ला तनुहँ घर भएकी न्यौपानेले ०५१ सालमा पहिलोपल्ट एमालेको पार्टी सदस्यता लिएकी थिइन् । उनी अनेरास्ववियु, अनेम संघ हुँदै पार्टीको केन्द्रीय सदस्य बनेकी हुन् । 

०७४ को निर्वाचनमा भानु नगरपालिकाको मेयरमा उठेर पराजित भएकी न्यौपानेलाई पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको चाहनामै राष्ट्रिय सभा सांसद बनाइएको थियो ।

टिप्पणीहरू