भिआइपीहरूको विदेश यात्रा भटाभट

भिआइपीहरूको विदेश यात्रा भटाभट

मन्त्रिपरिषद्को पछिल्लो दुइवटा बैठकमा पनि उच्च पदस्थ सरकारी अधिकारी (भिआइपी) हरुको विदेश भ्रमणसम्बन्धी निर्णयले निरन्तरता पाएको छ । 

असार २३ र ३० गते बसेको क्याबिनेट बैठकले मन्त्री र सचिवहरुको विदेश भ्रमण स्वीकृत गरेको हो । पछिल्लो बैठकले एक दर्जन निर्णय गरेकोमा चार वटा विदेश भ्रमण स्वीकृतिसम्बन्धी छन् ।

जसअनुसार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल आगामी साउन ८ गते मित्रराष्ट्र चीनको भ्रमणमा जानेछन् । बेइजिङमा आयोजना हुने ‘ग्लोबल हेल्थ फोरम’ मा सहभागी हुन उनलाई क्याबिनेटबाट अनुमति मिलेको छ । 

त्यसको केही दिनपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ पनि चीन जाने तय भएको छ । साउन १० देखि १२ गतेसम्म आयोजना हुने ‘वर्ल्ड आर्टिफिसियल इन्टिलिजेन्सी कन्फ्रेन्स’मा उनको सहभागिता रहने क्याविनेट बैठकले निश्चित गरेको हो । 

राष्ट्रिय योजना आयोगका सदस्य डा. जयबहादुर टन्डन इथोपिया जाने पक्का भएको छ । साउन ११ देखि १३ गतेसम्म आयोजना हुने दोस्रो संयुक्त राष्ट्रसंघीय खाद्य प्रणालीसम्बन्धी कार्यक्रममा उनलाई पठाउने क्याबिनेटले निर्णय गरेको हो । 

साउन ६ देखि ८ गतेसम्म दक्षिण अफ्रिकाको जोहान्सवर्गमा आयोजना हुने फर्स्ट ग्लोबल एसएमइ मिनिस्ट्रियल मिटिङमा त्यहाँका राजदूत प्रा कपिलमान श्रेष्ठले प्रतिनिधित्व गर्ने भएका छन् । उनलाई त्यहाँ सामेल हुन क्याबिनेटले स्वीकृति दिएको छ । 

त्यस्तै, असार २३ गते बसेको क्याविनेटले पनि विदेश भ्रमण स्वीकृतिका चार वटा निर्णय गरेको छ । जसमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीको नर्वे भ्रमण पनि छ । ‘नर्वे टु स्ट्रेन्थेन कोअपरेशन’को कार्यक्रममा सहभागी हुन उनी साउन ८ गते त्यता जाने छन् ।

दिगो विकास सम्बन्धी उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा नेपालको प्रतिनिधित्व गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीको अमेरिका भ्रमण पनि क्याबिनेटबाट स्वीकृत भएको छ । असार ३० गतेदेखि शुरु भएको उक्त कार्यक्रम साउन ८ सम्म चल्नेछ । 

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे पनि साउन ६ गते चीनको साप्ताहिक भ्रमणमा जाने तय भएको छ । साउन ५ देखि १६ गतेसम्म चीनमै आयोजना हुने अर्को एक कार्यक्रममा शिक्षा मन्त्रालयका विज्ञान तथा प्रविधि सचिवलाई सहभागी गराउने सरकारको निर्णय छ ।

टिप्पणीहरू